बुलबुले समाचारदाता
सुर्खेत, मङ्सिर २४ गते । वीरेन्द्रनगर नगरपालिका–८ की चन्द्रा नेपालीलाई घरमा गृहिणी र घरबाहिर जनप्रतिनिधिको भूमिकामा उभिनु पर्छ । घरव्यवहार उहाँको बाध्यता हो, समाजसेवा रहर । उहाँले रहरले गर्ने काममा लगनशीलता देखाएर आफ्ना मतदातालाई खुसी राख्ने कोसिस गर्नुभएको छ । उहाँको कामबाट आफूभन्दा बढी वडावासी सन्तुष्ट देखिएका छन् ।
चन्दा वडा सदस्यमा नयाँ अनुहार भने होइन । २०७४ सालमा पनि उहाँ सोही भूमिकामा हुनुहुन्थ्यो । जनताले उहाँको काम निकै रुचाएकै कारण पुनः दोस्रो पटक निर्वाचित हुनुभयो । अर्थात् २०७९ को स्थानीय तह निर्वाचनमा पनि दलित महिला वडा सदस्यमा निर्वाचित हुनुभएको छ । महिलाका समस्यामा उहाँ खुलेरै बोल्ने गर्नुहुन्छ । वडावासीको समस्या बुझ्न घर घरमा पुग्नुहुन्छ । उहाँको पहलमा गाउँघरमा स्वास्थ्य शिविर, पाठेघर खस्ने समस्याको पहिचानलगायतका काम भएका छन् । त्यति मात्र होइन बाटो, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यका सवालमा पैरवीसमेत गर्नुहुन्छ ।
यस्तै लक्ष्मीकुमारी चुनारा वीरेन्द्रनगर नगरपालिका–११ को निर्वाचित दलित महिला वडा सदस्य हुनुहुन्छ । वडा सदस्यका रूपमा करिब साढे दुई वर्षको अनुभव सँगाल्नुभएकी उहाँ काममा हौसिनुभएको छ । सामान्य लेखपढ मात्रै गर्नुभएकी चुनारा जनप्रतिनिधिको जिम्मेवारी समाल्नुअघि घरव्यवहारमै सीमित हुनुहुन्थ्यो । अहिले उहाँमा घरव्यवहार र जनप्रतिनिधिको दोहोरो जिम्मेवारी छ । लक्ष्मी संविधानप्रदत्त समानुपातिक व्यवस्थालाई अवसरका रूपमा आफूले लिएको बताउनुहुन्छ तर त्यस अनुसार आफ्नो अवस्था र योग्यता नभएका कारण काममा केही चुनौती देखिएको उहाँको अनुभव छ ।
वीरेन्द्रनगर–९ की रत्ना नेपाली पनि चन्द्रा र लक्ष्मी जस्तै दलित महिला वडा सदस्य हुनुहुन्छ । सामान्य लेखपढ गर्न जानेकी उहाँ पहिलो पटक जनप्रतिनिधि बन्नुभएको हो । उहाँ आफ्नो जिम्मेवारीलाई अवसरका रूपमा लिनुहुन्छ । बस्तीस्तरका योजना छनोटदेखि महत्वपूर्ण कार्यक्रममा आफ्नो अर्थपूर्ण सहभागिता भएपछि उहाँ हर्षित हुनुहुन्छ । अर्की मीना थापा विक युवा दलित महिला वडा सदस्य हुनुहुन्छ । वीरेन्द्रनगर–१५ की २६ वर्षीय वडा सदस्य मीना वडावासीको सेवा गर्न पाउँदा निकै उत्साही हुनुहुन्छ । उहाँको पहलमा टोल टोलमा नयाँ बाटो निर्माण, सरसफाइ अभियान, एकल महिला, दलित महिला, सिपमूलक तालिम भएका छन् । टोल विकास समितिलाई सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यव्रmम गर्ने गरिएको उहाँले बताउनुभयो ।
दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक पहुँच र अधिकारका लागि राज्यले अनिवार्य समानुपातिक समावेशिताको अधिकार सुनिश्चित गरेको छ । जसले चन्द्रा, लक्ष्मी, रत्ना, मीना जस्तै दलित समुदायका महिलाले स्थानीय सरकारमा प्रतिनिधित्व गर्न पाउँदा उनीहरूको व्यक्तित्व विकासका साथै समुदायको उत्थानमा सहयोग पुगेको वडावासीको भनाइ छ ।