• ९ पुस २०८१, मङ्गलबार

मानव अधिकार सबैको दायित्व

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २४ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानव अधिकारको पालना गर्नू गराउनू सबैको दायित्व रहेको बताउनुभएको छ । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार तथा १६ औँ मानव अधिकार राष्ट्रिय महाभेला–२०८१ उद्घाटन गर्दै उहाँले राज्यले मानव अधिकार सुनिश्चित गर्ने भए पनि सबैको दायित्व रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “मानव अधिकार रक्षाको विषय सीमान्तकृत वर्ग समुदायको संरक्षण र संवर्धनको पक्षमा उभिएको छ, यसको संरक्षण र निरन्तर निगरानी गर्नुपर्ने साझा सरोकारको विषय हो ।” उहाँले मानव अधिकारको सवाल सीमान्तकृत नागरिकमैत्री भएर छलफल हुनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समान अवसर र समानुपातिक न्याय मानव अधिकार हो । अधिकार संरक्षणका लागि बाधक भएका नीति नियम परिवर्तन जरुरी छ, समाजलाई समतामूलक बनाउनु सबैको दायित्व हो ।” 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सीमान्तकृत समुदायका लागि आयोगले काम गरिरहेको बताउनुभयो । आयोगले सरकारलाई बुझाएको मानव अधिकारका विषयमा अध्ययन प्रतिवेदन कार्यान्वयन फितलो रहेको दाबी उहाँको छ ।  

महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला अधिकारका आधारमा हेर्ने हो भने राज्य पक्षभन्दा गैरराज्य पक्षबाट बढी मानव अधिकार हनन भइरहेको बताउनुभयो । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले मानव अधिकारका सन्दर्भमा संविधानमा विशिष्टीकृत व्यवस्था गरिएको चर्चा गर्दै इमानदारीपूर्वक पालना गर्न आग्रह गर्नुभयो ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सीमान्तकृत र गरिबीको रेखामुनि परेका मानिसले मानव अधिकारको आधारभूत आवश्यकताको अनुभूति गर्न नपाएको बताउनुभयो ।