• ९ पुस २०८१, मङ्गलबार

एनपीएल

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको मध्यम लक्ष्य

blog

जनकपुरका खेलाडी ।

काठमाडौँ, मङ्सिर २३ गते । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ३७ रनको मध्यम लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३६ रन बनायो ।

जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाउनुभयो । उहाँले ३९ बलमा एक चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै लाहिरु मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

जनकपुरलाई सस्तैमा समेट्न अविशेष गौतमले तीन विकेट लिनुभयो । उहाँले पुरै चार ओभर बलिङ गर्दै २० रन खर्चिएर तीन विकेट लिनुभएको हो । कप्तान रोहित पौडेल र साद विन जाफरले दुई दुई तथा सन्दीप जोराले एक विकेट लिनुभयो । 

 लिगको चौथो खेल खेलिरहेका दुवै टोली जित निकाल्ने लक्ष्यमा छन् । अघिल्ला तीन खेलमा अपराजित जनकपुर जितको लय जारी राख्ने अभियानमा छ ।

जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो । 

यस्तै अघिल्ला तीन खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा छ । लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।