सुजल श्रेष्ठ
प्युठान, मङ्सिर २३ गते । गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लको बारीमा यो वर्ष प्रशस्त किवी फलेका छन् । सात वर्ष अघिदेखि व्यावसायिक रुपमा खेती सुरु गर्नुभएका मल्लले लगाएको किवीले राम्रो उत्पादन दिएको छ । तर किवीलाई बजारीकरण गर्न भने समस्या भएको भएको उहाँको भनाइ छ ।
“यो वर्ष ३० क्विन्टल जति उत्पादन भएको होला,” उहाँले भन्नुभयो, “एक दुई क्वीन्टल बिक्री पनि गर्न थालेको छु ।” उत्पादन भएको किवीलाई प्याकेजिङ गरेर उहाँले जिल्लाका बजारमा पुर्याउनुभएको छ । ग्रेडिङ गरिएको किवी प्रति केजी दुई सयदेखि चार सय रुपियाँसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।
गाउँकै खरा माध्यमिक विद्यालयमा शिक्षण पेशामा कार्यरत मल्लले सुमन जडिबुटी तथा कृषि नर्सरी स्थापना गरी किवीको व्यावसायिक खेती गर्नुभएको हो । करिब पाँच सय बिरुवा किवी लगाएको उहाँले बताउनुभयो । “किवीको खेतीसँगै बेर्ना उत्पादन पनि गरेको छु,” उहाँले भन्नुभयो, “बेर्नासमेत बिक्री गर्ने गरेको छु ।”
मल्ल काठमाडौं पुगेका बेला किवीको बारेमा थाहा पाउनुभएको हो । “बजारमा किवी महँगो फल रहेछ,” उहाँले भन्नुभयो, “त्यसपछि त्यस फलबारेमा अध्ययन गर्न थाले ।” सामाजिक सञ्जाल युट्युब लगायतबाट हेर्दै सिक्दै खेती सुरु गरेको उहाँको अनुभव छ । अहिले १३ रोपनी क्षेत्रफलमा खेती विस्तार भएको छ ।
काठमाडौं (कीर्तिपुर) बाट तीन सय रुपियाँमा प्रति बेर्ना खरिद गरेर गाउँमा उहाँले खेती सुरु गर्नुभएको हो । उहाँले गाउँमै किवीसँगै अन्य फलफूल तथा जडीबुटी उत्पादन तथा नर्सरी बेर्ना उत्पादनको सुरुवात गरेको जानकारी दिनुभयो । समुद्री सतहदेखि १६ सय मिटरमाथिको उचाइमा किवी खेती हुने भएकाले जग्गा उपयुक्त भएको उहाँको भनाइ छ ।
अहिले उत्पादन भएको किवीलाई बजारीकरण गर्न समस्या भएको मल्लले बताउनुभयो । आफैँ गाडीमा हिँडेर बिक्री गर्न जाँदा ढुवानी खर्च बढी लाग्ने भएकाले समस्या भएको उहाँले बताउनुभयो । “बजारीकरण गर्ने उपाय खोजिरहेको छु,” उहाँले भन्नुभयो, “मेला महोत्सवमा पनि लैजाने योजना छ ।”