• ९ पुस २०८१, मङ्गलबार

साढे छ वर्षसम्म पनि अधुरै सीता पुष्पवाटिका

blog

सीता पुष्पवाटिका मणिमण्डप अन्तर्गत निर्माणाधीन भौतिक संरचना । तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम समाचारदाता 

जनकपुरधाम, मङ्सिर २३ गते । जनकपुरधामको ऐतिहासिक र धार्मिक महìव बोकेको मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याएको सीता पुष्पवाटिका मणिमण्डपको निर्माण योजनाको काम साढे छ वर्ष बितिसक्दासमेत अधुरै छ । 

जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका–१३, रानीबजारस्थित सुरु गरिएको सीता पुष्पवाटिका योजनाको काम तीन वर्षमा सम्पन्न हुुनुपर्ने थियो तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण साढे छ वर्षसम्म पनि काम सम्पन्न नहुँदा स्थानीयवासीको आशा निराशामा बदलिएको छ । 

सङ्घ सरकारले २०७५ सालमा जनकपुरधामको ऐतिहासिक महìवलाई उजागर गर्न सीताराम विवाह मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न सीता पुष्पवाटिका निर्माणको थालनी गरेको थियो ।

२०७५ सालमा काठमाडौँको रविना कन्स्ट्रक्सन कम्पनी लिमिटेडले वाटिका अन्तर्गतका भौतिक निर्माणको जिम्मेवारी पाएको थियो । सम्झौता अनुसार २०७८ जेठ २४ गतेसम्म तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने थियो । पहिलो सम्झौताको मिति सकिएको तीन वर्षभन्दा बढी हुँदा पनि निर्माण कार्य सकिएको छैन । 

सङ्घीय सरकार सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधाम अन्तर्गत २०७५ सालमा भ्याटबाहेक १८ करोड १५ लाख २२ हजार ७९३ रुपियाँको लागतमा निर्माणको थालनी भएको थियो तर कम्पनीको लापर्बाही र ढिलासुस्तीका कारण वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना सम्पन्न हुन नसकेको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोदकुमार यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कम्पनीलाई पटक पटक ताकिता गरे पनि कुनै प्रतिव्रिmया दिएको छैन, टेन्डर लिने अनि पेटी ठेकेदारलाई काम दिने हुँदा समयमा काम सम्पन्न हुन नसकेको हो ।” 

कम्पनीले निर्माणका लागि म्याद थपेको समय मङ्सिर २२ शनिबार समाप्त भयो र त्यसपछि जरिबाना लाग्छ, अहिलेसम्म वाटिका निर्माणको काम भौतिकतर्फ ८० प्रतिशत र वित्तीयतर्फ सम्झौता रकमको ७६ प्रतिशत प्रगति भएको प्रमुख यादवले बताउनुभयो । 

यस्तै स्थानीय पूजा सामग्री व्यापारी राममस्रे रावतले सीता पुष्पवाटिका योजनाको कार्य सम्पन्न नहुँदा प्राचीनकालीन रामसीता विवाहस्थल मणिमण्डप ओझेलमा परेको बताउनुभयो । उहाँले यहाँ बनाइने विवाहमण्डपको योजना पनि जानकी मन्दिरमा लगेको बताउँदै उहाँले भन्नुभयो, “विवाहमण्डप निर्माणको योजना जानकी मन्दिर छेउमा लगेपछि कुनै पनि योजना यहाँ राखिएको थिएन तर सङ्घ सरकारले ल्याएको वाटिकाको योजना अन्तर्गतको काम पनि समयमा सम्पन्न नहुँदा यस ठाउँको विकास हुन नसकेको हो ।” 

त्रेतायुगमा राम र सीताको विवाह भएको स्थान मणिमण्डपको अवस्था अझैसम्म पनि सुधार नहुँदा पर्यटकको आवगमनमा वृद्धि हुन सकेको छैन । उक्त योजनाले मणिमण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास भयो भने पर्यटकीय गन्तव्य बनाउन ठुलो मद्दत पुग्ने छ । योजना समयमा सम्पन्न नहुँदा निराशा छाएको मणिमण्डपका पुजारी नवल दासले बताउनुभयो । उहाँले प्राचीनकालीन धार्मिक स्थल ओझेलमा परेको बताउँदै कुनै सरकारको नजरमा मणिमण्डपमा नपरेको गुनासो गर्नुभयो ।

मणिमण्डपलाई विकास गर्न नसकिएकोप्रति मन्दिरका पुजारी दासले भन्नुभयो, “बेलाबखत भारतीय पर्यटकको आगमन हुन्छ, नत्र भने अन्य पर्यटकको आगमन यहाँ हुन सकेको छैन । कतिपयलाई यस स्थानबारे जानकारी नै छैन । जानकी मन्दिरको छेउमा बनाइएको विवाहमण्डपको छायामा रामसीताको वास्तविक विवाह भएको स्थान मणिमण्डप छ ।” 

लामो समयको अन्तरालमा मणिमण्डपमा निर्माण हुन थालेको जनक दरबार र धर्मशाला निर्माणमा भएको ढिलासुस्तीप्रति सम्बन्धित निकायको ध्यनाकर्षण हुन जरुरी छ,” पुजारीले भन्नुभयो, “यो ऐतिहासिक विवाहस्थल हो ।” 

कम्पनीका तर्फबाट साइट इन्जिनियर सुनीलकुमार सिंहले योजना अन्तर्गत स्यानिटरी, विद्युतीय जडान, झ्यालको सिसा र रङरोगनको काम मात्र बाँकी रहेको बताउनुभयो । उहाँले कोरोनाका बेला समयमा सामान उपलब्ध नभएका कारण काम समयमा सम्पन्न हुन नसेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको दुई÷तीन महिनामा काम सम्पन्न हुन्छ ।”दुई बिघा क्षेत्रफमा फैलिएको सीता पुष्पावाटिका मणिमण्डप योजना अन्तर्गत मणिमण्डप परिसरभित्र दुईतले जनक दरबार, मूर्तिसहित दुईतले भवन, धर्मशाला, स्वयंवर मण्डप, दुई वटा प्याभिलियन, मन्दिर र पसलका लागि आठ सटरलगायतका भौतिक संरचना रहेका छन् ।