गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २३ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका करिब ८५ हजार योगदानकर्ताले कोषको योजनामा आबद्ध ९० वटा अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । कोषका अनुसार औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका पाँच लाख ४६ हजार ७६४ योगदानकर्तामध्ये ८४ हजार ९०२ जना योगदानकर्ताले ती अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।
कोषका अनुसार स्वास्थ्य सेवा लिएबापत एक अर्ब ९२ करोड ६१ लाख रुपियाँ दाबी गरेकोमा एक अर्ब ५० करोड ३८ लाख रुपियाँ भुक्तानी भएको छ । कोषले तोकेका अस्पतालमा उपचार गराउँदा मात्रै योगदानकर्ताको उपचारबापतको खर्च बेहोर्ने व्यवस्था छ । कोषले गत फागुन १ गतेदेखि कोषसँग सम्झौता गरेका अस्पतालमा मात्रै योगदानकर्ताले औषधोपचारबापतको रकम दाबी गर्न पाउने व्यवस्था लागु गरेको हो । यसअघि भने सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले जुनसुकै अस्पतालमा उपचार गराउँदाको खर्च कोषले उपलब्ध गराउँदै आएको थियो ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषसँग सम्झौता गरेका अस्पतालबाट मात्रै योगदानकर्ताले स्वास्थ्य उपचारबापतको रकम दाबी गर्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तोकेका अस्पतालमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३६ वटा छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई वटा छन् । कर्णाली प्रदेशमा त अहिलेसम्म अस्पताल तोकिएको छैन ।
योगदानकर्ताले सामाजिक सुरक्षा परिचयपत्र देखाएर अस्पतालमा उपचार गराउँदाको खर्च सामाजिक सुरक्षा कोषले सिधै अस्पताललाई तिरिदिने प्रावधान छ । कोषमा कम्तीमा तीन महिना नियमित योगदान गरेपछि औषधोपचार सुविधा पाइन्छ । यसअन्तर्गत वार्षिक एक लाख रुपियाँसम्मको औषधोपचार सुविधा व्यवस्था छ ।
कम्तीमा तीन महिना नियमित योगदान गरेका योगदानकर्ता र निजको दम्पतीलाई ओपिडी (अस्पताल भर्ना नभई) सेवाको वार्षिक २० हजारसम्मको शोधभर्ना कोषले गर्छ । त्यस्तै योगदानकर्ता र निजको दम्पतीलाई आइपिडी सेवा (अस्पतालमा भर्ना भएर उपचार गराउँदा) वार्षिक ८० हजार रुपियाँसम्मको शोधभर्ना कोषले उपलब्ध गराउँछ ।
दुई वर्ष योगदान गरेका योगदानकर्तालाई घातक रोग लागेमा १० लाख रुपियाँसम्म कोषले उपलब्ध गराउँछ । कोषले विभिन्न योजनाको दाबी भुक्तानीका लागि समयसीमा तोकेको छ । जस अनुसार अस्पताल भर्ना नभई गरिने (ओपिडी) उपचारको ९० दिनभित्र, भर्ना भई उपचार गराएकाले डिस्चार्ज भएको ९० दिनभित्र र दुर्घटनाका हकमा उपचार गराएको वा डिस्चार्ज भएको ९० दिनभित्र दाबी गरिसक्नुपर्ने छ ।
मातृत्व हेरचाह भत्ता शिशु जन्मेको ९० दिनभित्र दाबी गर्नुपर्ने छ भने मातृत्व बिदा भत्ता र बिरामी बिदा भत्ता बिरामी भएको अथवा डिस्चार्ज भएको १२० दिनभित्र दाबी गरिसक्नुपर्ने उल्लेख छ । सरकारले २०७६ साउन १ गतेदखि सुरु गरेको सामाजिक सुरक्षा कोषमा १९ हजार ८२९ रोजगारदाता प्रतिष्ठान आबद्ध भएका छन् । ती प्रतिष्ठानमा काम गर्ने पाँच लाख ४६ हजार ७६४ श्रमिक तथा कर्मचारी सूचीकृत छन् ।