धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर २१ गते। त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगत् जननी सीताबिच विवाह भएको सम्झनामा जनकपुरधाममा जारी सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ।
महोत्सवको अन्तिम दिन शनिबार राम कलेवा (जन्तीको बिदाइ) विधि भएसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्मपन्न भएको हो।
आज दिउँसो जानकी मन्दिरमा प्रतिकात्मक भगवान राम सिताको वैवाहिक विधि भएको वेदीमा अयोध्याको २७ प्रान्तबाट आएका साधु सन्तसहितका जन्तीलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, उत्तराधिकारी रामरोशन दास सहितकाले ५६ परिकार भोजन गराइ उपहार दिँदै बिदाइ गर्नुभएको थियो।
यस पटको विवाह पञ्चमी महोत्सवमा सात लाख भन्दा बढी मान्छेको सहभागिता भएको जानकी मन्दिरले अनुमान गरेको छ। विवाह पञ्चमी महोत्सवलाई मध्यनजर गर्दै नेपाल रेल्वेले बिहीबार वाट थप गरेको आफनो सेवा शनिबार पनि यथावत राखेको छ।
दैनिक तीन पटक संचालन हुने रेल तीन दिनदेखि समय निर्धारण नगरी संचालन हुँदै आएको छ भने सुरक्षाका लागि बाहिरको जिल्लाबाट जनकपुरधाम आएका सुरक्षाकर्मीलाई विस्तारै आ–आफनो स्थानमा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।