धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर २२ गते । त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी सिता माताबिच जनकपुरधाममा विवाह भएको सम्झनामा यस वर्ष विशेष उल्लासका साथ जनकपुरधाममा शुक्रबार विवाहपञ्चमी महोत्सव मनाइएको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शुक्रबार दिउँसो जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा भगवान् रामसिताको स्वयंवर कार्यक्रम भएको छ । स्वयंवरका लागि जनकपुरधामको जानकी मन्दिरबाट निस्केको जगतजननी माता जानकीको डोला र राम मन्दिरबाट निस्केको भगवान् रामको डोला रंगभूमि मैदान बाह्रबिघा पुगेको थियो ।
माता जानकीको डोलाले भगवान् रामको डोलालाई तीन पटक परिक्रमा गरेपछि दुवै डोलामा रहेको भगवान् रामसीताको मूर्तिबिच माला फेर गरिएको थियो । माला फेरका समयमा आकाशमा उड्दै गरेको हेलिकेप्टरबाट पुष्पवर्षा गरिएको थियो ।
उक्त विधिमा दुवै मन्दिरका पुजाहरीहरुले माला फेरको कार्यक्रममा सघाउनुभयो । त्रेतायुगमा भगवान् रामसिताको स्वयंवर हेर्नका लागि तीनवटै लोकका देवी देवताको सहभागिता रहेको जनविश्वासका कारण स्वयंवर कार्यक्रम हेर्न लाखौँको सङ्ख्यामा साधुसन्त, श्रद्धालु भक्तजन र सर्वसाधारणको उपस्थिति रहेको थियो ।
भारतको अयोध्याबाट राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायको नेतृत्वमा जन्तीको रूपमा भारतको २७ वटा प्रान्तबाट सहभागी भएका साधुसन्तको सहभागिताले स्वयंवर कार्यक्रम हेर्ने भिड नै लागेको थियो । स्वयंवर कार्यक्रम हुने क्रममा मैथलानी महिलाले नाचगान गर्दै विभिन्न प्रकारका मङ्गल गीतहरू गाएका थिए ।
स्वयंवर पश्चात् दुवै डोलासहित सहभागी साधुसन्त र श्रद्धालुभक्तजन नगरको परिक्रमा गरेका थिए । दिउँसो स्वयंवर कार्यक्रम सकिएपछि साँझ ७ बजेपछि जानकी मन्दिरको प्राङ्गणमा निर्माण गरिएको वेदीमा भगवान् राम र सिताको वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो । वैवाहिक कार्यक्रम हिन्दु वैदिक परम्पराअनुसार हुने र उक्त कार्यक्रममा भारतको अयोध्याबाट आएका जन्तीहरूको सहभागिता रहने जानकी मन्दिरले जनाएको छ ।
राति वैवाहिक कार्यक्रम सम्पन्न भएपश्चात् शनिबार रामकलेवा अर्थात् जन्तीको बिदाइ गरेपछि सात दिवसीय विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गरी नेपाल रेल्वेले आफ्नो सेवालाई थप गरेको छ ।
दैनिक तीन पटक सञ्चालन हुने रेलको समयसिमा भने अहिले निर्धारण गरिएको छैन । यता विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरसहित जनकपुरधामको विभिन्न मठ मन्दिरमा पूजा अर्चना गर्न आएका श्रद्धालु भक्तजनको बिहानैदेखि भीड लागेको थियो ।