• ८ पुस २०८१, सोमबार

बढ्दै कर सङ्कलन लागत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । कर सङ्कलन गर्न लाग्ने सरकारको खर्च बढ्न थालेको छ । सूचना प्रविधिको प्रयोगमार्फत कर लागत घटाउने सरकारको लक्ष्य रहे पनि पछिल्ला दुई वर्ष यस्तो लागत झन् बढेको पाइएको हो । 

आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षमा  एक हजार रुपियाँ कर सङ्कलन गर्न तीन रुपियाँ ८४ पैसा खर्च भएको छ । त्यसअघि आव २०७९/८० मा एक हजार रुपियाँ कर सङ्कलन गर्न तीन रुपियाँ ३८ पैसा खर्च भएको थियो । यस्तो खर्च आव २०७८/७९ मा प्रतिएक हजार दुई रुपियाँ २३ पैसा थियो । विगत तीन वर्षको अवधिमा मात्रै कर लागत प्रतिएक हजार डेढ रुपियाँले बढेको देखिन्छ । 

कर सङ्कलनको अवस्थासँग यसलाई तुलना गर्दा गत आवमा विभागले कुल पाँच खर्ब ३३ अर्ब तीन करोड रुपियाँ कर सङ्कलन गरेकोमा त्यसका लागि दुई अर्ब पाँच करोड रुपियाँ खर्च भएको छ । त्यस्तै त्यसअघि आव २०७९/८०  मा चार खर्ब ७९ अर्ब ७९ करोड रुपियाँ कर सङ्कलन गर्न सरकारले एक अर्ब ४१ करोड रुपियाँ खर्च गरेको देखिन्छ । 

आर्थिक वर्ष २०७८/७९ मा चार खर्ब ८३ अर्ब ४८ करोड रुपियाँ कुल राजस्व सङ्कलन भएकोमा विभागले त्यसका लागि दुई अर्ब १७ करोड रुपियाँ खर्च गरेको देखिन्छ । 

विभाग र यस अन्तर्गतका कार्यालयले आर्थिक वर्षभर गरेको कुल राजस्व सङ्कलन र त्यसका लागि भएको चालु तथा पुँजीगत खर्चको अनुपातलाई कर लागतको आधार मानिन्छ, जसलाई प्रतिएक हजार रुपियाँ एकाइको अनुपातमा निकाल्ने गरिन्छ । 

विगतमा सूचना प्रविधिको न्यून प्रयोग र थोरै कर कार्यालयका कारण कर लागत बढी हुने गरेकोमा पछिल्लो समय विभागले कर लागत घटाउन सूचना प्रविधिको प्रयोगलाई बढावा दिएको छ । 

अनलाइनबाटै कर प्रक्रियामा दर्ता हुने सकिने र अनलाइनबाटै कर भुक्तान गर्न सक्ने व्यवस्थाका कारण कर लागत घट्दै आएको देखिन्छ तर विगत दुई वर्षमा भने यस्तो लागत केही बढेको विभागकै तथ्याङ्कले देखाउँछ । लक्ष्य अनुसार कर सङ्कलन बढ्न नसक्दा पनि कर लागत बढ्ने अवस्था आउने विभागले जनाएको छ ।