• ८ पुस २०८१, सोमबार

धरानमा सङ्गीत जात्रा सुरु

blog

निशा राई

धरान, पुस ८ गते । मौलिक तथा जातीय भेषभुषा, साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्नलाई प्राथमिकता दिएर आयोजना गरिएको “सङ्गीत जात्रा–२०८१” सुरु भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ धरान उपमहानगरपालिकामा आईतबारबाट पुस १७ गतेसम्म धरान–१५ बगरकोटमा सङ्गीत जात्रा, सांस्कृतिक महोत्सव सुरु भएको हो । 

सङ्गीत जात्राको पहिलो दिन धरान–१५ को वडाध्यक्ष नरेश ईवारमले उद्धघान गर्नुभएको थियो । यस महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास रहेको वडाध्यक्ष ईवारमले बताउनुभयो । महोत्सवमा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्नहरुलाई प्रोत्साहन गरिएकोले धरानलाई चिनाउन यसले मद्दत थप गर्ने उहाँले बताउनुभयो । 

महोत्सवको पहिलो दिन किरातहरुको साकेला नाच र लिम्बुहरुको च्याब्रुङ नाच प्रदर्शन गरिएको थियो भने महोत्सव अवधिभर थप मनोरन्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती गरिने भएको छ । 

नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताउनुभयो । महोत्सवमा दैनिक ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उहाँले बताउनुभयो ।

आयोजक नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा मजदुर नेता भीम ज्वाला राई, सुनसरी उद्योग वाणिज्य संघका सचिव किशन मास्के लगायतले शुभकामना प्रदान गर्नुभएको थियो ।  

महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ । 

महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको छ भने महोत्सवमा ५० वटा स्टल रहेको आयोजकले जनाएको छ। महोत्सवमा प्रवेश गर्न २ सय रुपैंया टिकट लाग्ने संयोजक राईले बताउनुभयो ।

यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने उद्देश्यका साथ आयोजना गरिएको र महोत्सवमा कानुन विपरीतको कुनै पनि काम नगर्ने संयोजक राईले बताउनुभयो ।