इन्चोन (साउथ कोरिया), मंसिर २१ गते । विश्वको चौथो ठुलो अर्थतन्त्र दक्षिण कोरियाको तेस्रो ठूलो शहर इन्चोन यतिबेला आफूलाई ‘विदेशी पाहुनामैत्री शहर’ को रुपमा स्थापित गराउन सफल भएको छ ।
एक तथ्याङ्कका अनुसार यहाँको कुल ३० लाख जनसंख्यामध्ये करिब एक लाख ५० हजार विदेशी नागरिक छन् । केही दशक अघिसम्म आप्रवासनमा जाने नागरिकहरुको देशको रुपमा चिनिने कोरिया अहिले आप्रवासी भित्र्याउने देश बनिसकेको छ । देशभित्र वर्षेनी वृद्धाहरुको संख्या बढिरहेका बेला इन्चोन कोरियामा वर्षेनी भित्रिरहेका लाखौँ विदेशीहरुलाई आकर्षित गर्दै आफूलाई ‘विदेशी पाहुनामैत्री शहर’ बनाउन विभिन्न परियोजनाहरु चलाइरहेको छ ।
कोरियन डायसपोरा
केही दशक अघिसम्म कोरिया आप्रवासनमा जानेहरुको देश थियो । तर अहिले यो आप्रवासीहरुको रोजाइको देश बनेको छ । सिओल राष्ट्रि«य विश्वविद्यालय एशिया रिसर्च केन्द्र अन्तर्गत रहेको एशिया वसाइसराई केन्द्रका निर्देशक जुन ह्युन जोका अनुसार सन् २०२४ अगष्टसम्म कोरियामा स्थायी र अस्थायी गरी २० लाख ६४ हजार विदेशी नागरिकहरु बसोबास गर्छन् । जुन कुल जनसंख्याको ५.१ प्रतिशत हो ।
त्यसो त बसाइसराई मानव समाजको विकासव्रmममा देखिएको एक आम प्रवृत्ति हो । मानिसहरुले आफ्नो जीवनयापनको व्रmममा विभिन्न कारण देशभित्रै (आन्तरिक) तथा कतिपय अवस्थामा बाह्य (अन्तरदेशीय) बसाइसराई गरिरहेका हुन्छन् । अल्पविकसित देशहरुका अधिकांश नागरिकहरु अध्ययन वा रोजगारीको खोजीमा विदेशिनु नौलो कुरा होइन । तर यहाँ महत्वपूर्ण विषय के छ भने विश्वको सबभन्दा विकसित र शक्तिशाली ठानिएका अमेरिका तथा यूरोपका नागरिकहरु पनि एकआपसमा बसाइसराई गरिरहेका छन् ।
सन् २०२२ मा अमेरिकाको जनगणनाको तथ्याङ्कअनुसार हाल त्यहाँ करिब ४७ लाख यूरोपियन आप्रवासीहरु छन्, जुन मुख्यतः उत्तरी यूरोपबाट आएका हुन् । एक तथ्याङ्कका अनुसार हजारौँ अमेरिकनहरु मुख्यतः यूरोपियन देशहरुमा बसाई सरिरहेका छन् । यस्तो अवस्थामा विश्वको चौथो ठूलो अर्थतन्त्रबाट भएको दक्षिण कोरिया पनि अछुतो छैन । कोरियाको एक विश्व विद्यालयका प्राध्यापक चोइ योन ह्योकका अनुसार हाल विश्वका १ सय ९३ देशमा करिब ७० करोड ३२ लाख कोरियन मूलका नागरिकहरु छरिएर रहेका छन् ।
करिब पाँच दशक अघिसम्म ठूलो आर्थिक संकटबाट गुज्रिएको कोरिया हाल आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक सबै ढंगले विश्वको एक शक्तिशाली देशको रुपमा स्थापित छ । यहाँको भौतिक विकास, प्रतिव्यक्ति आम्दानी, शिक्षा तथा स्वास्थ्य सेवा विश्वका अब्बल मध्येमा गनिन्छ । कोरियाको शिक्षा मन्त्रालयको एक तथ्याङ्क अनुसार हाल करिब एक लाख २५ हजार कोरियन विद्यार्थीहरु विश्वका विभिन्न देशमा अध्ययनरत छन् । यद्यपि यो संख्या सन् २०१७ को भन्दा करिब ४८ प्रतिशतले कमी हो ।
अध्ययनका लागि मात्र होइन थप सहज र उन्नत जीवन खोज्दै विदेशिने कोरियनहरुको संख्या पनि उल्लेख्य छ । यो संख्या हालको आधुनिक वा विकसित कोरिया बन्नुभन्दा पहिलेदेखि नै सुरु भएको हो । कोरियाको जनसंख्या वृद्धिदर हाल ०.१ प्रतिशत मात्र छ ।
पूर्व प्राध्यापक तथा सामाजिक अभियन्ता पार्क कुङह्योका अनुसार अहिले कोरियामा प्रत्येक पाँच जनामध्ये एक जना वृद्धा छन् । अर्थात वर्षेनी यहाँ वृद्धाहरुको संख्या बढिरहेको छ । यसै विषयलाई मध्यनजर गर्दै कोरियन सरकारले गैर आवासीय कोरियन (कोरियन डायसपोरा) हरुलाई पुनः देश फर्काउने पहल सुरु गरेको छ । यसका लागि केन्द्रीय सरकार मात्र होइन, त्यहाँका प्रान्तीय तथा स्थानीय सरकारले समेत आम कोरियनहरुमा कोरियन डायसपोरालाई आकर्षित गर्ने पहल थालेको छ । यसै सिलसिलामा एक महिनाअघि अक्टोबर ३१–नोभेम्बर २ सम्म कोरियाको इन्चोन महानगरपालिकाले अन्तर्राष्ट्रिय मिडिया सम्मेलनको आयोजना गरेको थियो ।
अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२४
इन्चोनलाई डायसपेरामैत्री शहर बनाउन मिडियाको भूमिकाबारे बहस गर्न आयोजना गरिएको यो सम्मेलनमा एशियाभरका करिब तीन दर्जन मिडियाकर्मीहरु सहभागी थिए । कोरियाको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि यही छ । समुन्द्र पुरेर निर्माण गरिएको यो अन्तर्राष्ट्रिय विमानस्थलले मात्र हैन, यहाँको भौतिक विकास तथा उन्नतिका लागि गरिएको मेहनतले पनि यसको गरिमा बढाएको छ । करिब ३० लाख जनसंख्या भएको यो महानगर अन्तर्गतको सुन्दर साङ्दो शहर आफैँमा एक आश्चर्यजनक मानव निर्मित शहर हो । सरकारी अधिकारीहरुका अनुसार दुई दशक अघिसम्म यो स्थान पुरै समुद्रको पानीले भरिएको थियो ।
कोरियन सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने व्रmममा समुन्द्र पुरेर यो शहरको निर्माण गरेको थियो । कृत्रिम शहर भएकोले हुनुपर्छ यति धेरै व्यवस्थित छकि यहाँको कुनै पनि बाटो, घर तथा बजारहरु कुनै कलाकारले निक्कै फुर्सदमा सुन्दर बुट्टा भरेर बनाएजस्तो लाग्छ । सरकारले यस क्षेत्रलाई ‘फ्रि इकोनोमिक जोन’ बनाएर देश तथा विदेशका ठूला कम्पनीहरुका लागि सुरक्षित लगानीको वातावरण बनाई दिएको छ । त्यसैले हाल विश्वका ठुला बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्व विद्यालयहरु त्यहाँ छन् । राजधानी सिओल तथा दोस्रो ठुलो शहर बुसानका विद्यार्थी तथा व्यवशायीहरु समेत यहाँ आकर्षित भएका छन् ।
विश्वका सबभन्दा ‘एड्भान्स’ र ‘समावेशी’ शहर बन्ने दौडमा रहेको इन्चोनमा भएको सम्मेलनमा स्वीडेनको सामाजिक विज्ञान विश्वविद्यालय प्राध्यापक ब्राजो एलिएसिसहित कोरियाका जर्ज मेसन विश्वविद्यालय कोरियाका प्राध्यापक रोल्याड वि विल्सनलगायत दर्जनौँले यस्तै विषयमा महत्वपूर्ण गहन प्रस्तुती दिनुभएको थियो । मुख्यतः कोरियन डायसपोरालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा केन्द्रीत भएको छलफल कोरियाको लागि मात्र हैन, नेपालजस्ता अल्प विकसित देशहरुका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
कोही विद्यार्थी भिषामा त कोही वैदेशिक रोजगारीका लागि नेपालबाट वर्षेनी लाखौँको संख्यामा नागरिकहरु देश छाडिरहेका छन् । यस्तो अवस्थालाई परिवर्तन गर्न वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिट्यान्सको उचित सदुपयोग वा त्यसलाई उत्पादनशील राष्ट्रिय अर्थतन्त्रमा बदल्नेबारे हामीकहाँ खास बहस भएको छैन । व्यक्तिगत तहमा कमाई गर्ने लाखौँ वैदेशिक रोजगारीमा जाने मजदुरहरुको कमाइ जसरी नेपाल भित्रिन्छ, त्यसैगरी व्यक्तिगत तहको सामान्य आवश्यक्ता (खाना, कपडा, मोवाइल, टेलिभिजन) जस्ता उपभोग्य वस्तुको खरिदमै सक्किरहेको छ ।
कोरियाजस्ता केही राम्रा कमाई हुने देशमा जानेहरुले राजधानीमा घर जोड्नेसम्म व्यवस्था गरेका छन् । बाँकी अधिकांशको खर्च रोजिरोटीमै सक्किएको छ । यता अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई पढाई सकेर स्वदेश फर्काउने त हाम्रो कुनै योजना नै छैन । पढाईका लागि विदेश जाने अधिकांश विद्यार्थीको मनसाय पनि सकभर पिआर (स्थायी बसोबास) को अनुमति लिएर उतै सेटल हुने हुन्छ । यसबारे गम्भीरतापूर्वक नसोच्ने हो भने नेपाल केही दशकपछि ठुलो जनसांख्यिक समस्या झेल्नुपर्ने हुन्छ । किनकि करिब ४० को दशकदेखि घन्काइएको ‘दुई सन्तान ईश्वरको वरदान’, परिवार नियोजनका परियोजनाहरुका कारण जनसंख्या वृद्धिदर यसै पनि कम भएको छ । ठूलो संख्याका युवाहरु विभिन्न कारण विदेशिदा जन्मदर झन कम भएको छ । केही दशकसम्म एक जोडिले दुईभन्दा बढी बच्चा पाउँथे त्यसैले एक दुई जना विदेशिए पनि बाँकीले समाज तथा परिवार धान्दथे । हाल एक जोडिले एक सन्तान मात्र पाउने त्यो पनि विदेश जाने ट्रेन्ड बसेकाले कतिपय वृद्धबृद्धाले बुढेसकालमा स्याहार गर्ने सन्तान नहुने स्थिति छ ।
सम्भवतः यस्तै विषयलाई मध्यनजर गरेर कोरियन सरकार कोरियन डायसपोरालाई स्वदेशमा आकर्षित गर्न चाहन्छ । यद्यपि यसका लागि हाल कायम रहेका कानुनी प्रावधानहरुमा परिवर्तन गर्नुपर्ने प्राध्यापक विल्सनको धारणा छ । अहिले पनि कोरियामा दोहोरो नागरिक्ताको व्यवस्था छ । तर अर्को देशको नागरिक्ता लिइसकेकाहरुलाई स्थायी रुपमै स्वदेश फर्काउन पर्याप्त नहुने उहाँको धारणा छ । इजराइलमा कुनै नागरिकले नागरिक्ता लिन चाहेमा सजिलै पाएजस्तै एक पटक नागरिक्ता त्यागे पनि कुनै कोरियनले पुनः नागरिक्ता लिन चाहेमा सजिलै उपलब्ध गराउने व्यवस्था हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
आफ्नो जन्मथलो वा पुख्र्यौली माटोसँग सम्बन्धित नागरिक्ता त्यागेर अर्को देशको नागरिक्ता लिएका व्यक्तिहरुलाई पुनः आफ्नै देश फर्काउन कानुनी व्यवस्थाले मात्र सम्भव हुँदैन । कतिपय अवस्थामा त आफ्नो बुबा वा हजुरबुबाले आफ्नो जन्मथलो छाडेर आएपछि नागरिकता लिएको स्थानमा हुर्किएका पुस्ता पनि पुनः आफ्नो पुख्र्यौली थलो फर्कन चाहिरहेका हुन्छन् । यस्तो अवस्थामा उनीहरुको रहनसहन, सँस्कृति र भाषा पनि फरक भइसकेको हुन्छ । त्यही विषयलाई ख्याल गरेर इन्चोनले आम नागरिकहरुमा पनि कोरियन डायसपोराप्रति सम्मान र एकत्वको भाव सिर्जना गरिरहेको छ । ‘ओभरसिज कोरियन एजेन्सी’, ‘कोरियन डायसपोरा डे’ जस्ता कार्यव्रmममार्फत स्थानीय सरकार विदेशमा रहेका कोरियनहरुलाई स्वदेश फिर्तीको वातावरण बनाइरहेको छ ।
इन्चोन महानगरपालिकाले त ‘ओभरसिज कोरियन अफेर अफिस’ नै स्थापना गरेर काम गरिरहेको छ । इन्चोन महानगरपालिका यस्तो कार्यालय स्थापना गर्ने कोरियाको पहिलो स्थानीय सरकार हो । पत्रकार किम योङ फिलका अनुसार सम्भवतः यही भएर होला इन्चोन शहरको कुल एक करोड जनसंख्यामध्ये ३० लाख मात्र इन्चोनका नागरिक छन् । बाँकी सबै बाहिरका मानिसहरु हुन् । यसलाई अझ बृद्धि गर्न इन्चोनले ‘ओभरसिज कोरियन इन्चोन एक्सचेन्ज एण्ड भिजिट इयर्स २०२५–२६’ घोषणा गरेको छ । यसले इन्चोन आफूलाई ‘कोरिया बाहिरका मानिसमैत्री शहर’को रुपमा चिनाइरहेको छ ।