निशा राई
धरान, मङ्सिर २१ गते। गृहमन्त्री रमेश लेखकले प्रेस स्वतन्त्रतामा गम्भीर रहेको बताउनुभयो। शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।
‘सरकार संविधानको मर्म अनुसार अगाडि बढ्छ। संविधानले प्रत्याभूति गरेको प्रेस स्वतन्त्रताको विषयमा हामी गम्भीर छौँ’, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले भन्नुभभो।
धरानका नगर प्रमुख हर्कराज राईले पत्रकारविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै पत्रकारले गृहमन्त्रीसमक्ष ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्। बुधबार पत्रकारले बुझाएको ध्यानकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले लोकतन्त्रमा प्रेस पूर्ण रुपमा स्वतन्त्र हुने उल्लेख गर्नुभयो।
पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राई लगायत सम्पूर्ण पत्रकारले शुक्रबार धरानमा गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो।
नगर प्रमुख राईल पत्रकार गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई भ्रामक समाचार लेखेको भन्दै सामाजिक सञ्जालमार्फत धम्की दिनुभएको थियो।