हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर २१ गते। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई संविधान संशोधन गरेर राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताउनुभएको छ।
मङ्सिर २२ गते विराटनगरमा हुने नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलनलाई सम्बोधन गर्न शुक्रबार विराटनगर आइपुग्नुभएका सभापति देउवाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दनुभएको हो।
उहाँले संविधान संशोधन दलीय सहमतिमा गरिने बताउँदै संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले सहमति बिना असम्भव रहेको उल्लेख गर्नुभयो।
नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले भेलाबारे जानकारी नभएको जवाफ दिनुभयो।
सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचनबाट नेतृत्व चयन हुने बताउनुभयो। उहाँले वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नरहेको बताउँदै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै मुलुक समृद्धितर्फ अगाडि बढेको उल्लेख गर्नुभयो।