• १० माघ २०८१, बिहिबार

‘सुख्खा छाला रोगको घर हो ’

blog

काठमाडौं, मङ्सिर २१ गते । चिसो मौसममा छालासम्बन्धी समस्याले बढी दुःख दिने गर्छ । यो मौसममा छाला सुख्खा हुने, चिलाउने, एलर्जी हुने, अनुहारमा पोतो आउने, हातखुट्टा फुट्ने, औंला सुन्निने जस्ता छालासम्बन्धी समस्या देखिने गर्छन्। 

कतिपय रोग जस्तै: छालामा रहेको बाथ, चिलब्रेन, डण्डीफोर, कत्लेरोग, चायालगायतका समस्या जाडो मौसममा झन बढ्ने छालारोग विशेषज्ञले बताउनुभयो । बिस्तारै जाडो बढ्दै गएपछि औंला सुन्निने र हात खुट्टा फुट्ने जस्ता समस्या निम्तिन्छ। 

वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्णले जाडोमा सुख्खा अनुहार, घामको एलर्जी भएर छाला पोल्ने, चिलाउने, चाया बढ्ने समस्या लिएर बिरामी अस्पतालमा पुग्ने बताउनुहुन्छ । जाडोमा सुख्खा हावाको कारणले छालामा समस्या देखिने उहाँको भनाइ छ । 

शरीरको तापक्रमभन्दा वातावरणको तापक्रम बढी भएमा शरीरबाट तापको साथसाथै पानीको मात्रा बाहिर आउने हुँदा छाला सुख्खा हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दशैं तिहार सकिएलगतै वातावरण परिवर्तन हुने हुँदा छाला सुख्खा भई समस्या देखिन्छ । त्यसलाई बेवास्ता गरेमा भविष्यमा सामान्यदेखि जटिल समस्या निम्तिने गर्छ ।”

जाडोमा विशेषगरी, घाँटीभन्दा माथि कुहिनाभन्दा तल र घुँडाभन्दा तलको भाग धेरै खुख्खा हुने उहाँले बताउनुहुन्छ । डा. कर्णका अनुसार छाला सुख्खा भएमा सुरुवाती चरणमा ओठ सुख्खा हने गर्छ । उहाँ भन्नुहुन्छ, “छाला सुख्खा भएमा घामको एलर्जी हुने, चिलाउने, ओठ सुख्खा भएमा जुठो खटिरा आउने, ओठ फुट्ने, घाउ आउने हुन्छ । त्यसैगरी, अनुहारमा चाया पोतो पहिलादेखि छ भने छाला सुख्खा राखेमा जाडोमा बल्झिने, डन्डीफोर आउने जस्ता समस्या देखिने गर्छन् ।” 

चिसो धेरै बढ्दै जाँदा हात र खुट्टा सुख्खा भएमा औँला सुन्निने, एलर्जी हुने, बच्चाको छालामा घाउ खटिरा आउनेजस्ता समस्या देखिने उहाँ बताउनुहुन्छ । छाला धेरै सुख्खा भएमा हातखुट्टामा चिरा पर्ने, चिरा परेको ठाउँमा विभिन्न किसिमको जीवाणुहरुको सङ्क्रमण भई सामान्यदेखि जटिल छालाका समस्या निम्तिने गर्छन् । 

३०-३५ उमेर कटेका महिला, धेरै घरायसी काम गर्नुपर्ने महिला, महिनावारी सुक्ने बेलामा भएका महिलामा, थाइरोइड, मधुमेह, उच्च रक्तचापका बिरामीमा छाला सुख्खा हुने सम्भावना बढी हुने उहाँ बताउनुहुन्छ। त्यसका अलावा मोजा नलगाउने, छालाको स्याहार नगर्ने मानिसमा छालाको समस्या बढी देखिने गर्छ। 


सुख्खा छाला भएकाले अत्यधिक मात्रामा फेसवास, किलिन्जरको प्रयोग गर्दा छालाको समस्या बढी देखिने उहाँको भनाइ छ । अत्यधिक फेसवास, किलिन्जर, साबुनको प्रयोग गर्दा छालाको बाहिरी आवरण नष्ट भई एलर्जी आउने, छाला डढ्ने, घामले असर गर्ने उहाँ बताउनुहुन्छ ।   

जाडोमा यस्तो समस्या आउन नदिन छालाको स्याहार गर्न डा. कर्णको सुझाव छ । उहाँका अनुसार छालामा समस्या आउन नदिन दशैं तिहारलगत्तै छालाको स्याहार गर्न सुरु गर्नुपर्छ । उहाँले भन्नुभयो, “छाला सुख्खा हुन नदिन बिहान बेलुका मोइस्चराइजर क्रिम लगाउने, नुहाइसकेपछि मोइस्चरराइजर वा तेल लगाउने, घामबाट छाला जोगाउन सनस्क्रिनको प्रयोग गर्ने, घाममा जाँदा छाताको प्रयोग गर्नुपर्छ।” 

उहाँका अनुसार जाडोमा हात, खुट्टाका औँला सुन्निन नदिन माेजा पन्जा लगाएर न्यानो बनाएर राख्नुका साथै प्रशस्तमात्रमा पानी पिउन उहाँको सुझाव छ । छालामा समस्या देखिन थाल्यो भने तुरुन्त छालारोग विशेषज्ञसँग परामर्श गरी उपचार गर्न उहाँको आग्रह छ। 

जाडोमा छालामा देखिने समस्या र समस्या आउन नदिन के कस्ता उपाय अपनाउनुपर्छ भन्ने विषयमा केन्द्रित भई वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्णसँग गोरखापत्र अनलाइनका लागि तयार पारेको भिडियाे संवाद :

 

भिडियो : मनोजरत्न शाही  


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।