• १६ भदौ २०८१, आइतबार

स्याङ्जाको नगरमा काँग्रेस, गाउँमा एमालेको दबदबा

blog

अर्जुन काफ्ले/राधाकृष्ण डुम्रे 

स्याङ्जा(वालिङ), जेठ ५ गते । स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक गाउँपालिकामा नेपाली काँग्रेस तथा एक नगरपालिका र पाँच गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नगरमा काँग्रेसको दबदबा हुँदा गाउँमा एमालेको वर्चस्व देखिएको हो । 

२०७४ को स्थानीय तह निर्वाचनमा जिल्ला सदरमुकामको पुतलीबजारसहित दुई नगरपालिका र पाँच गाउँपालिकाको नेतृत्व आफ्नो पोल्टामा पार्न सफल एमाले यस पटक एक नगरपालिका र पाँच गाउँपालिकामा सीमित भएको हो । 

अघिल्लो निर्वाचनमा प्रचण्ड बहुमतसहित पालिकाको नेतृत्व हात पारेको एमाले यसपल्ट झिनो मतान्तरले विजयी भएको छ । २०५४ साल यता पुतलीबजारमा एकछत्र राज गर्दैआएको एमालेको गढ मानिएको सदरमुकाम पुतलीबजार नगरपालिकामा पहिलो पटक काँग्रेस विजयी भएको छ । नगर प्रमुखमा काँग्रेसका तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल विजयी हुनुभएको हो । 

रेग्मीले १२ हजार ५ सय १५ मत पाउँदा एमालेबाट उम्मेदवार रहेकी सीमाकुमारी क्षेत्रीले १० हजार नौ सय मत प्राप्त गर्नुभयो । यस्तै, उपमेयरमा अर्यालले ११ हजार ७४८ मत पाउँदा एमालेका महेश पुरीले १० हजार ७६१ मत पाउनुभएको हो । रेग्मी दुई हजार ४२५ मतान्तरले विजयी हुँदा अर्याल ९८७ मतको अन्तरले विजयी हुनुभयो । गत निर्वाचनमा १४ वडामध्ये चार वडामा मात्र बिजयी भएको काँग्रेस यस पटक एमाले पाँच वडामा खुम्चिएको हो । 

भीरकोट नगरपालिकाको प्रमुखमा काँग्रेसका गोविन्दकुमार कर्माचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । कर्माचार्यसँग प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार विश्वनाथ अर्यालले पाँच हजार ६६९ मत प्राप्त गर्दै पराजित हुनुभयो ।  

उपप्रमुखमा काँग्रेसकी भगवती रेग्मी अर्यालले सात हजार १७९ मत प्राप्त गर्दा एमालेकी सरस्वती अधिकारीले चार हजार ८९८ मत प्राप्त गर्नुभयो । नगरपालिकाको वडा १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वडाका अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं ६ को अध्यक्षमा एमाले विजयी भएको हो । 

गत निर्वाचनमा एमाले विजयी गल्याङ नगरपालिकाको प्रमुखमा काँग्रेसका गुरुप्रसाद भट्टराई विजयी हुनुभएको छ । भट्टराईले एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका सूर्यप्रसाद गैह्र ‘पारस’ लाई पराजित गर्दै विजयी हुनुभयो ।  

भट्टराईले नौ हजार ६२१ मत प्राप्त गर्दा गैह्रेले आठ हजार ९२२ मत प्राप्त गर्नुभयो । नगरपालिकाको उपप्रमुख काँग्रेसकै हेमा न्यौपानेले नौ हजार ११८ मतकासाथ विजयी हुँदा एमालेकी देवी थापाले नौ हजार ५५ मत प्राप्त गर्नुभयो । नगरका वडा नं १, ३, ४, ६, ९ र १० गरी  ६ वटा  वडामा काँग्रेसका उम्मेदवार विजयी हुँदा वडा नं २, ७, ५, ८ र ११ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् । 

वालिङ नगरपालिकामा मेयरमा एमालेका कृष्ण खाँणले १३ हजार ७७६ मतका साथ दिलिपप्रताप खाँणलाई पराजित गर्नुभयो । दिलिप खाँणले ११ हजार  ५९३ मत ल्याउनुभयो । उपमेयरमा काँग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८२२ मत ल्याउँदै एमालेकी खगिसरा थापालाई पराजित गर्नुभयो । थापाले १२ हजार ३४० मत ल्याउनुभयो ।

काँग्रेसले वडा नम्वर १, २, ५, १०, ११ र १४ गरी बहुमत कार्यपालिका सदस्य जितेको छ । एमालेले ३, ४, ६, ७, ८, ९, १२ र १३ वडाहरुमा जित हात पारेको छ । 

चापाकोट नगरपालिकामा काँग्रेसका देबबहादुर खाँणले सात हजार ४९० मतका साथ एमालेका राजु कोइरालालाई पराजित गर्नुभयो । यस्तै, उपमेयरमा काँग्रेसका इशा रानाले सात हजार ४१३ मतले विजयी हुदाँ एमालेकी सृष्टि मल्ल पराजित हुनुभयो । कोइरालाले छ हजार ५५५ मत प्राप्त गर्नुभएको थियो भने मल्लले छ हजार ३७६ मत प्राप्त गर्नुभयो ।  

चापाकोटमा १, २, ७, ९ र १० वडा एमालेले जित्दा काँग्रेसले ३, ४, ५, ६, ८ वडा जितेको छ । छ गाउँपालिकामध्ये अर्जुनचौपारीमा प्रकाश तिवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । ३२ वर्षीय तिवारीले एमालेकी चिनमाया गुरुङ्लाई पराजित गर्नुभयो । अर्जुन चौपारीमा १, २, ३, ४, ५ वडा जित्दा ६ वडा एमालेले जितेको छ । 

गाउँपालिकाका अध्यक्षमा विजयी तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा एमालेकी गुरुङ्ले ४ हजार ८ सय २७ मत प्राप्त गर्दै पराजित हुनुभयो । गाउँपालिकाको उपाध्यक्षमा समेत काँग्रेसले जित हात पारेको   छ । काँग्रेसकी सपना गुरुङ्ले ३३ सय ४७ मत प्राप्त गर्दा एमालेका टङ्कप्रसाद खनालले ३७ सय ६७ मत प्राप्त गर्नुभयो ।   

गत निर्वाचन पनि जित हात पारेको एमालेका तर्फबाट फेदीखोला गाउँपालिकाको अध्यक्षमा घनश्याम सुवेदी विजयी हुनुभएको छ । उहाँले काँग्रेसका लक्ष्मीप्रसाद बराललाई १३२ मतले पराजित गर्दै विजयी हुनुभयो । अध्यक्षमा निर्वाचित सुवेदीले तीन हजार ८३६ मत प्राप्त गर्नुभयो । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ्ले माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतले पछाडी पार्नु भयो । गुरुङले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।  

पाँच वटा वडा रहेको गाउँपालिकामा १, ३, ४ र ५ मा काँग्रेसका अध्यक्षका उम्मेदवारहरु विजयी भएकोमा वडा नं २ मा एमालेका अध्यक्षका उम्मेदवार विजयी हुनुभयो । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका विश्वनाथ पौडेल काँग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनुभयो । पौडेलले पाँच हजार १७७ मत प्राप्त गर्दा काँग्रेसका प्रेमराज पौडेलले चार हजार ३५१ मत प्राप्त गर्नुभयो ।  

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै सीता थापा पाँच हजार २७३ मत प्राप्त गर्दै विजयी हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रामचन्द्र पौडेल तीन हजार ८१७ मत प्राप्त गर्दै पराजित हुनुभयो । गत निर्वाचनमा ३२ सिट नै जितेको एमालेले वडा १ का चार सदस्य र वडा नं ६ पूरै गुमाएको हो । 

बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका सूर्यबहादुर कुँवर चार हजार ८७२ मतले बिजयी हुदाँ  काँग्रेसका उम्मेदवार डोलराज पोखरेल चार ७४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी उम्मेदवार भगवती शर्मा चार ९३७ मत ल्याउँदै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट उम्मेदवार बनेका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गर्नुभयो ।  

बिरुवामा तीन वडा काँग्रेसले जित्दा एमालेले तीन र माओवादी केन्द्रलदे एक वडा जितेको हो । कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा एमालेका खिमबहादुर थापा ६ हजार सात सय मतले विजयी हुँदा प्रतिस्पर्धी काँग्रेसकी माया रानाले पाँच हजार ५५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित हुनुभयो । निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार बमबहादुर लामिछानेले चार हजार ३३० मत प्राप्त गर्नुभयो ।  

हरिनास गाउँपालिकामा अध्यक्षमा एमालेका खिमनारायण मानन्धरले काँग्रेसका टोपबहादुर भुजेललाई ३७ मतले पराजित गर्नुभयो । उपाध्यक्षमा एमालेकै इन्द्रकुमारी थापाले गठबन्धनका मिठु नेपालीलाई २४ मतले पराजित गर्नुभयो । मानन्धरले चार हजार ७६९ मत ल्याउँदा थापाले चार हजार ७४० मत प्राप्त गर्नुभयो । हरिनासमा काँग्रेसले १, २ र ५ वडा जित्दा एमालेले ३, ४ र ६ जितेको छ ।