• १२ पुस २०८१, शुक्रबार

विवाहपञ्चमी महोत्सव

मटकोर विधि सम्पन्न, आज वैवाहिक समारोह

blog

धनुषा समाचारदाता

जनकपुरधाम, मङ्सिर २१ गते  । त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान् राम र जगत् जननी जानकीबिच भएको विवाहको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । 

महोत्सवको पाँचौँ दिन बिहिबार मटकोर (वेदीका लागि माटो खन्ने) विधि सम्पन्न भएको छ । शुक्रबार दिउँसो  मैथिली परम्परा अनुसार स्वयम्बर र राति वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिनुभयो । 

जानकी मन्दिरका पुजारी रामरोशन दासको नेतृत्वमा साधु सन्तसहितको सहभागितामा बाजागाजासहितको लस्कर जनकपुरधामको पवित्र गङ्गासागर पोखरीमा पुगेर मटकोरको विधि सम्पन्न गरेको हो । सो अवसरमा महिलाहरूले विभिन्न प्रकारका वैवाहिक गीत प्रस्तुत गरेका थिए । 

जानकी माताको मटकोर विधि हेर्नका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन गङ्गासागरको डिलमा पुगेका थिए । वैवाहिक कार्यक्रममा सहभागी हुन अयोध्याबाट आएका जन्तीको समेत जानकी माताको मटकोर कार्यक्रममा सहभागिता रहेको थियो । मटकोर विधिका क्रममा जनकपुरधामको गङ्गासागरबाट लगिने माटोले वेदी निर्माण गरिने र सोही वेदीमा शुक्रबार वैवाहिक कार्यक्रम हुने बताइएको छ । सात दिवसीय कार्यक्रममा जगत् जननी जानकीका पिता राजा जनकको भूमिका जानकी मन्दिरका महन्त राम तपेश्वर दासले निर्वाह गरिरहनुभएको छ भने मर्यादा पुरुषोत्तम भगवान् रामका पिता दशरथको भूमिका राम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले निर्वाह गरिरहनुभएको छ ।

विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरसहित जनकपुरधामका विभिन्न मन्दिरमा पूजाअर्चना गर्न आएका श्रद्धालु भक्तजनको भिड नै लागेको छ । शुक्रबार वैवाहिक कार्यक्रम हुने भएकाले भिडभाड अझै बढ्ने भन्दै स्थानीय प्रशासनले बिहीबारदेखि नै जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको धनुषा प्रहरीले जनाएको छ ।  

यसैबिच मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार नै अयोध्याबाट जनकपुरधाम आएका जन्तीको सम्मानमा दिवाभोजको आयोजना गर्नुभएको थियो । मुख्यमन्त्रीको निवासमा आयोजित दिवाभोजमा सहभागी भएका जन्तीलाई मुख्यमन्त्री सिंहसहित उद्योग पर्यटनमन्त्री सकिल मियाँ, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जैसवालसहितका मन्त्रीले कम्बल वितरण गर्नुभएको थियो ।