जलवायु परिवर्तनको असरबारे विश्वभर नै चर्चापरिचर्चा चुलिएको छ । भर्खरै मात्र अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) सम्पन्न भयो । सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो । जलवायु सङ्कटका अनेक मुद्दामा नेपालले आवाज मुखरित गर्यो । जलवायु परिवर्तनका असर विश्वभर छ तर नेपाल जलवायु सङ्कटका दृष्टिले अझ बढी जोखिमतिर गइररहेको अध्ययन निष्कर्षसमेत आउन थालेको छ । नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर व्यापक हुँदै गएपछि पेसाबाट विस्थापित हुनुपर्ने भएको छ । कृषिप्रधान भनिँदै आएको नेपालमा यस पेसाबाट जीवन धान्नै कठिन हुँदै गएपछि वैदेशिक रोजगारी बाध्यता हुने नै भयो । यसले जलवायु सङ्कट न्यूनीकरणमा लाग्न सम्बद्ध निकाय एवं नीतिनिर्मातालाई थप दबाब सिर्जना गरेको छ ।
त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले जलवायु परिवर्तनको असरबारे एउटा महत्वपूर्ण अध्ययनको नेतृत्व गर्न पुग्यो । नेपाल, भारत, चीन र बङ्गलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्तासँग मिलेर सन् २०२२ देखि २०२४ सम्म तीन वर्ष लगाएर गरेको अध्ययन भर्खरै सम्पन्न भयो । प्राडा प्रेमसागर चापागाईंको नेतृत्वमा भएको अध्ययनले नेपालको रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीका २११ घरधुरी नमुना चयनलाई समेटेको थियो । अध्ययनले यो ३० वर्षमा तापक्रम बढेको पाइएको छ । वार्षिक वर्षा केही मात्रामा घटेको पाइयो भने खाद्यचक्रमा कुप्रभाव पर्दा आन्तरिक र बाह्य बसाइँ सर्ने क्रम बढेको देखियो । कृषि र पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दै गएको तथ्यले बढी निर्भरता वैदेशिक रोजगारीमा देखियो । यसले भावी दिनमा समेत नेपाल निकै ठुलो जलवायु परिवर्तनको असरको सामना गर्न तयार हुनुपर्ने सङ्केतसमेत गरेको छ ।
जलवायु परिवर्तनको असर अध्ययनमा प्राडा चापागाईंसँगै डा. शोभा श्रेष्ठ, डा. वसन्त पौडेल, चीनका प्रा. झाङ यिल, डा. लियु लिनसान र प्रा. सियानजोन यान, भारतका प्रा. सुरेन्द्रचन्द्र राय र बङ्गलादेशका प्रा. नुरुल इस्लाम संलग्न थिए । यो अध्ययनकर्ताले नेपालको मात्र होइन, यस क्षेत्रकै जलवायु परिवर्तन असरको अध्ययन गरे । ‘दक्षिण एसियाको विविध सामाजिक, सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन’ शीर्षकमा गरिएको अध्ययन सान्दर्भिक देखिएको छ । नेपालबाट दैनिक दुई तीन हजारका दरले युवकयुवती वैदेशिक रोजगारीमा गइरहेका छन् । जलवायु परिवर्तनका कारण वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेको भने चर्चा थिएन । नेपालमा रोजगारी अभाव भई वैदेशिक रोजगारी बाध्यता भएको भनिँदै आएको हो ।
नेपालको मूल पेसा कृषि क्षेत्रले ठुलो स्वरोजगारी दिँदै आएको थियो । पछिल्ला वर्षमा कृषि क्षेत्र जलवायु सङ्कटका मारमा पर्न थालेसँगै समस्या आयो । कृषि उत्पादन घट्दै गइरहेको अध्ययनसमेत देखाएको छ भने लागत मूल्य भने बढेको छ । वैदेशिक रोजगारीको आकर्षणले जनशक्ति अभाव कृषि क्षेत्रले भोगिरहेको छ । कृषि जनशक्तिको तीव्र अभाव छ भने अर्मपर्म गर्ने परम्परागत सामाजिक व्यवहार पनि गाउँघरबाट बिस्तारै हराउँदै गएको छ । परिवर्तनको असर कृषि क्षेत्रमा बहुआयामिक छ । पशुपालन न्यून हुँदै जाँदा रासायनिक मलप्रति निर्भरता बढ्दो छ । यसले खेतबारीमा अम्लीयपन बढाउँदै लगेर भविष्यमा अझ जटिल समस्या आउन सक्ने छ । बालीनालीमा रोग तथा किराको सङ्क्रमणसमेत बढेको छ । गाईवस्तुको मलमा रोग किराको अतिक्रमण अति न्यून हुने पुराना पुस्ताको अनुभव उपयोगी थियो । त्यसै गरी जलवायु परिवतर्नका कारण बेमौसमी अधिक वर्षा, सुक्खा, हावाहुरी र असिनाले बालीनालीमा क्षति तीव्र रूपमा बढेको पनि पछिल्लो अध्ययनले देखाएको छ । त्यसले पनि कृषि पेसा छाड्ने क्रम बढेको देखिएको छ ।
पृथ्वीको तापमान बढ्दो छ । त्यसमा विश्वका धनी औद्योगिक मुलुकबाट हुने जैविक इन्धन दोहनले विगत दुई सय वर्षमा अधिक कार्बन उत्सर्जन मूल कारण हो । नेपाल जस्ता मुलुकले त्यस हदसम्मको कार्बन उत्सर्जन गरेको छैन तर जलवायु परिवर्तनको असरको दण्ड पनि अझ बढी भोगिरहेको छ । जलवायु परिवर्तनले तापक्रम तथा वर्षाको ढाँचामा परिवर्तन, खडेरी, बाढी तथा पहिरो जस्ता विषम मौसमी घटना आवृत्ति बढेको छ । जलवायु परिवर्तनका कारण भारत तथा बङ्गलादेशमा बाढी तथा डुबानसमेत बढेको यो अध्ययनले देखाएको छ । जलवायु सङ्कटको असर न्यूनीकरण गर्न गम्भीर सामूहिक पहलको कार्ययोजना बनाउँदै कार्यान्वयनमा अग्रसर हुनु वाञ्छनीय छ ।