गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । इजिप्टमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल’ मा नेपाल भोटिङ राउन्डको उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व डा. आयुष्नोभा ढुङ्गानाले गर्नुभएको छ । भोटिङ राउन्डमा उत्कृष्ट हुनेले फाइनलको उत्कृष्ट पाँचमा प्रवेश पाउने प्रावधान छ । प्रतियोगितामा ढुङ्गानाले लगाएको राष्ट्रिय पहिरनले चर्चा पाइरहेको छ । उहाँले लगाएको राष्ट्रिय फूल लालीगुराँसको गाउनमा शान्तिको प्रतीक परेवाको फ्युजन राखिएको थियो । प्रतियोगिताको फाइनल आज (शुक्रबार) हुँदै छ । प्रतियोगितामा ५५ देशका प्रतिनिधि सहभागी छन् ।