कठमाडौं, मङ्सिर २० गते। प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बिहीबार प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री समूहक्षाना गुस्माओसँग शिष्टाचार भेटवार्ता गर्नु भएकाे छ ।
इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्नेबारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।
सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिँदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणका लागि समेत आग्रह गर्नुभयो भने प्रधानमन्त्री गुस्माओले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुराउने बताउनु भयो ।
भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको विस्तार गर्ने विषयमा पनि छलफल भयो।
प्रधानमन्त्री गुस्माओले सांसद ढकाललाई विशेष अभिनन्दन समेत गर्नुभएको थियो । साथै सांसद ढकालले इस्ट टिमोरका पूर्व प्रधानमन्त्री मारी अल्कातिरी, निर्वाचन आयोगका अध्यक्ष डा होसे ए दा कोस्टा बेलो पेरेइरा तथा इस्ट टिमोरका कार्डिनल विर्गीलियो डो कार्मो दा सिलवालगायत विशिष्ट व्यक्तित्वहरुसँग पनि शिष्टाचार भेट गर्नुभयो।
पूर्व मन्त्री ढकाल इस्ट टिमोरको ३ दिने मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ र उहाँ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य पनि हुनुहुन्छ । नेपाल र इस्ट टिमोर बीच सन् २०२२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।