• ८ पुस २०८१, सोमबार

‘महिलालाई रोजगारसँग जोड्नुपर्छ’

blog

अन्तरक्रिया कार्यक्रम पश्चात् मुख्यमन्त्री सतीशकुमार सिंहसँग सामूहिक तस्बिर महिला उद्यमी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, मङ्सिर २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महिलालाई रोजगार र उद्योगसँग जोड्न सकियो भने मात्र नेपाललाई विकासोन्मुख मुलुकमा स्तरोन्नति गर्न सकिने बताउनुभएको छ । 

बिहीबार धनुषाको लालगढमा महिला उद्यमी महासङ्घ नेपालले आयोजन गरेको प्रदेशस्तरीय महिला उद्यमशीलता प्रवर्धनका लागि व्यवस्था गरिएको नीति तथा कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

मुख्यमन्त्री सिंहले सम्पूर्ण महिलालाई रोजगारसँग जोड्न आवश्यक रहेको बताउँदै जबसम्म सम्पूर्ण महिला रोजगारसँग जोडिँदैन तबसम्म समृद्धिको लक्ष्य भेटाउन नसकिने जानकारी दिनुभयो । महिलाहरू घरको चुल्होचौकाबाट बाहिर निस्केर अहिले उद्योग, निर्माण, हस्तकला र सूचना प्रविधिलगायतका क्षेत्रमा सफल हुँदै गएको उहाँले उदाहरण दिनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकार महिला उद्यमीहरूलाई अगाडि बढाउन योजना बनाएर काम गरिरहेको छ । प्रदेश सरकारद्वारा यसअघि पनि धेरै काम भएको छ । पछिल्लो समय मधेश प्रदेशमा महिला उद्यमीको सङ्ख्यामा समेत वृद्धि देखिएको छ ।” स–सानो लगानीमार्फत स्टार्टअफ व्यवसाय सुरु गर्ने महिलाको पनि सङ्ख्यामा वृद्धि भएको छ । प्रदेशका उद्योगी व्यवसायीलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले १२ करोड रुपियाँ बजेट छुट्टाएको मुख्यमन्त्री सिंहले बताउनुभयो । 

कार्यक्रममा महिला उद्यमी महासङ्घ नेपालका अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीलाई घरपरिवार र सरकारको साथ सहयोग आवश्यक भएको बताउनुभयो । महासङ्घले देशभरका महिला उद्यमीलाई प्रोत्साहन गर्न विभिन्न कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा थप प्रोत्साहित गर्न महिला उद्यमीले उत्पादन गरेको बस्तुको प्रयोग बढाउनुपर्ने बताउँदै उहाँले सरकारले यसको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।