• ८ पुस २०८१, सोमबार

नेपाल–चीन बिजनेस समिट

विदेशी लगानी बढाउन सुधारको प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २० गते । नेपालमा चिनियाँसहित विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । 

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभएको थियो । उहाँले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकाले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको स्मरण गर्दै उहाँले दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताउनुभयो । 

उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको बताउनुभयो । साथै उहाँले महासङ्घले लगानी, पर्यटन र निर्यात प्रवर्धनमा देशविदेशमा पहल गरिरहेकोमा महासङ्घको प्रशंसा पनि गर्नुभयो । 

चीनका वाणिज्य उपमन्त्री लिङ जीले चीन र नेपालबिचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको जानकारी गराउनुभएको थियो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताउनुभयो । 

चीन नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अति कम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आग्रहमा सरकारले लगानीसम्बन्धी आठ वटा कानुन संशोधन गरेको जानकारी दिँदै द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको स्पष्ट पार्नुभयो ।

उहाँले पहिलो पटक नेपालको सार्वभौम साख परीक्षण भएको र दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो अवस्थामा नेपाल रहेको जानकारी पनि गराउनुभयो । यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले बताउनुभयो । 

साथै उहाँले सीमा क्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासङ्घ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताउनुभयो । 

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताउनुभयो । 

महासङ्घको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर्नुभएको थियो । 

समिटमा १२० जना चिनियाँ व्यवसायीको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रहेको महासङ्घले जनाएको छ । 

समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको समेत सहभागिता थियो । समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।