• ८ पुस २०८१, सोमबार

स्याङ्जामा भूमिगत सिँचाइ

blog

तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङसिर १९ गते । भीरकोट नगरपालिका वडा नं ६ सिमलचौर र एकुवारमा भूमिगत सिँचाइ योजना निर्माण गरिएको छ । यहाँ नयाँ प्रविधिमा आधारित भूमिगत सिँचाइ प्रणाली पहिलो पटक जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय निर्माण गरेको हो ।

भूमिगत पानीको उपयोग गर्न निर्माण गरिएको नयाँ प्रविधिको सिँचाइ योजना ६० लाखको लागतमा निर्माण गरिएको र योजना ९० प्रतिशत काम सकिएको सिँचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यले बताउनुभयो ।

सिमलचौर र एकुवारको जमिनमा सिँचाइका लागि एकुवार बिस्रीखोला जैसीडाँडा नयाँ प्रविधि सिँचाइ निर्माण गरिएको हो ।

यहाँको १५ हेक्टर जमिनलाई सिँचाइ गर्ने उद्देश्यले तीन वर्षअघि सुरु गरिएको योजनामा सिमलचौरमा विद्युतीय मोटरद्वारा छ इन्चको फलामको पाइप ७२ मिटर गहिरो गाडेर प्रति सेकेण्ड सात लिटर पानी निकालिएको छ । 

यस्तै, एकुवार पनि मोटरको प्रयोग गरेर आठ इन्चको पाइप ६० मिटर गहिरो गाडेर प्रति सेकेण्ड २५ लिटर पानी निकाल्ने प्रविधि प्रयोग गरिएको हो ।

योजनाको प्राविधिक परीक्षण पश्चात कृषकहरूले सिँचाइ प्रयोजनका लागि पानी प्रयोग गर्न पाउने आचार्यले बताउनुभयो । भीरकोटको उब्जाउ क्षेत्र यहाँ सिँचाइका लागि दुई वटा नहर भए पनि एक नहरको  संरचना जीर्ण भएको छ भने एक नहरमा बाढीले पूर्ण क्षति पुर्‍याएको छ ।

खोलाको किनारमै भए पनि आँधीखोला नदीको उत्खननले गर्दा आकाशे भेलपानीको भरमा सिँचाइ गर्नुपर्ने बाध्यता भएको हो ।
भीरकोट नगरपालिकाले व्यवसायिक रूपमा नदी उत्खनन गर्न थालेपछि सिँचाई प्रणालीमा निरन्तर अवरोध भइरहेको छ भने नदीको सतह करिब तीन  मिटर गहिरिएको छ ।

पुरानो नहर पुनर्निर्माणका लागि करिब ३० करोड रुपियाँ लाग्ने भएकाले वैकल्पिक सिँचाइ  प्रणालीको रूपमा भूमिगत पानीको उपयोग गर्न लागिएको हो ।

यस योजनाबाट हिउँदे बाली र नगदेबालीको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको बताउदै सिँचाइ योजनाका अध्यक्ष सूर्यप्रसाद कोइरालाले खेत र बारी दुबैमा सिँचाइ हुने भएकाले किसानहरू खुशी भएको बताउनुभयो । स्थानीय कृषकहरूले कृषि उत्पादनमा अपेक्षित वृद्धि गर्न नहर नै सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन् ।