• ३० वैशाख २०८१, आइतबार

आमाहरूकी आमा दिलशोभा भन्नुहुन्छ: संसार मायामा अड्किएको छ

blog

काठमाडौं, जेठ ५ गते । भनिन्छ भगवानको अर्को रुप नै आमा हुन् । हामी संसारको जुनसुकै कुरा किन्न सकौंला तर आमा किन्न सक्दैनौं । आमालाई सम्झिँदै गर्दा दिलशोभाको नाम हरेकले सम्झिने गर्नुहुन्छ ।

काठमाडौंको कालीमाटी सोल्टीमोडबाट कलङ्कीतिर जाँदा रविभवन बायाँपट्टिको साँघुरो गल्ली छ, त्यहाँबाट भित्रछिरेपछि ७ दशक उमेर पूरा गरिसक्नुभएका दिलशोभा श्रेष्ठले आमाहरुका लागि ‘आमा घर’ खोल्नुभएको छ । श्रेष्ठको ६ आना जग्गामा बनेको आफ्नो पुरानो तीन तले घरमा ३० जना आमाहरु हुनुहुन्छ ।

आफूले मन पराएर बिहे गरेका श्रीमानले छोरा नपाएको भन्दै छाडेपछि उहाँको आमाको घरको यात्रा शुरु भएको हो । श्रीमान्ले छाडेपछि उहाँले आफूजस्तै दुःख पाएकाहरुलाई सेवा गरेर बस्ने निर्णय लिनुभएको हो । श्रीमानले छाड्नुभएकै कारण आमाहरुको सेवा गर्ने मौका पाएकोमा श्रेष्ठ खुशी हुनुहुन्छ ।


वि.सं. २०५० बाट सञ्चालनमा आएको आमाघरमा सुरुमा ५ जना आमाहरुलाई आश्रय दिएर चलेको थियो । तर आजको दिनसम्म कैयौं आमालाई सेवा दिँदै हजारभन्दा बढी आमाको दाहसंस्कार गराइसक्नुभएको छ । जुन नेपाली समाजमा दागबत्ती दिँदा छोरा नै चाहिन्छ भन्ने व्यक्तिहरुका लागि चुनौती हो ।

बुढेसकालमा चाहिने नै माया अनि न्यानो अनि तातो मात्र रहेछ । त्यति पनि आफ्नो आमालाई दिन नसक्नु दुःखको कुरा भएको श्रेष्ठले बताउनुभयो ।

“माया परमेश्वरले दिने रहेछ, कोहीले आमा घरको धोकैमा बच्चा छाडेर जाने गर्छन्,” श्रेष्ठ भन्नुहुन्छ, पाल्दिनँ भन्न पनि मिलेन, जो कोहीको पनि माया लाग्छ । आमाको घरमा अहिले आठजना बच्चा छन् ।

आमा घरमा अहिले अस्पतालहरुमा बेवारिसे छाडिएका, बाटोमा अलपत्र परेका वा फालिएका र प्रहरी चौकीमा अलपत्र परेका आमाहरू हुनुहुन्छ । यहाँ आउन नागरिकता, स्थायी ठेगाना, सिफारिस र पैसा लाग्दैन । यहाँ धर्म र जातको बन्देज पनि छैन।

सुन्दरीजलमा रहेको दृष्टिविहीन आमा घरमा ४० जना आमा, गुरुजुधारा, नख्खिपोट, सुनारगाउँ र रविभवनमा गरी आमा घरको ५ वटा शाखामा ११० जना आमा हुनुहुन्छ ।  

उहाँको यो सेवामा सरकार, मनकारी व्यक्तिहरु सबैको सहयोग मिलेको छ । कोही जन्मदिन मनाउन, विवाह उत्सव मनाउन पुग्छन् अनि कोही आमाको मुख हेर्ने दिन भनेर वा यस्तै मौकामा आमाघर सम्झेर आउने गर्नुहुन्छ ।

“आमा घर म एक्लैले चलाएकाे हाेइन, संसार मायामा अड्किएको छ अनि दिलशोभाको दिलमा जो पनि अट्छ,” श्रेष्ठले भन्नुभयो ।

आमाको घरका सञ्चालिका दिलशोभा श्रेष्ठसँगको भिडियो संवाद । भिडियो तथा सम्पादन : मनाेजरत्न शाही ।