• ७ पुस २०८१, आइतबार

ललितपुरमा मेयर कप ब्याडमिन्टन सुरु

blog

प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर नगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाही ।

काठमाडौँ, मङ्सिर १८ गते । ललितपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ । 

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भेट्रान खेलाडी कुमार मोहनबहादुर शाहीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको पहिलो दिन पुरुष एकलमा वरीयताप्राप्त खेलाडी भोजपुरका विशाल तामाङ र एपिएफका भोजबहादुर गुरुङले विजयी सुरुवात गर्नुभएको छ । 

तामाङले नेपाल पुलिसका हिराबहादुर राईलाई २१–१७, २१–५ र गुरुङले ललितपुरका सुविन श्रेष्ठ (ए) लाई २१–११, २१–११ ले हराउनुभयो । कैलालीका शिशिर रानाले दार्चुलाका पप्पु पाललाई २१–१०, २१–१४ र युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीले महोत्तरीका इशान झालाई २२–२०, २०–२२, २१–१३ ले पराजित गर्नुभयो । 

एपिएफका क्षितिज खनालले युनिटी ब्याडमिन्टन एकेडेमीका नरेन्द्र बमलाई २१–१५, २१–१८, सेनाका सौर्य महर्जनले गार्खाका मुकुल गुरुङलाई २१–१३, २१–१६, पुलिसका पूर्ण बहादुर थापाले काभ्रेका अङ्कित भोछिभ्वयलाई २१–१२, २१–९ले हराउनुभयो । पाँच दिने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।