• ७ पुस २०८१, आइतबार

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबिच व्यापार सहजीकरणका लागि छलफल

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबिच नयाँ दिल्लीमा भएको भेटवार्ता । तस्बिर : रासस

काठमाडौँ, मङ्सिर १८ गते । छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबिच द्विपक्षीय हितका विषयमा मङ्गलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणको लागि आग्रह गर्नुभयो ।

नेपालको पारवहन तथा व्यापार सहजीकरणको विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवहन सन्धि संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहनुभएका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो ।

यस्तै व्यापार तथा पारवहनको सहजीकरणको लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ । त्यस अवसरमा मन्त्री भण्डारीले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनेकाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने सम्बन्धमा पहलकदमीका लागि मन्त्री गोयलसँग आग्रह गर्नुभयो । रासस