• ७ पुस २०८१, आइतबार

पचास करोडसम्म लगानी गर्न विदेशबाटै आवेदन गर्न सकिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १८ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपियाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने व्यवस्था भएको बताउनुभएको छ । 

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको २९ औँ साझेदारी शिखर सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले विदेशी लगानीकर्ताले अनलाइन प्रणालीमार्फत स्वतः पूर्व स्वीकृतिप्राप्त गर्ने जानकारी दिनुभयो । 

विदेशी लगानीको न्यूनतम सीमा (थ्रेसहोल्ड) पाँच करोडबाट घटाएर दुई करोडमा पु¥याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिनुभयो । 

मन्त्री भन्नुभयो, “हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौँ, लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानामुनि ल्याएर वन स्टप सर्भिस सेन्टर (ओएसएससी) स्थापना गरिएको छ ।”

मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताले आफ्नो लगानीको नाफा र पुँजीको ग्यारेन्टीसहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौतामा हाम्रा प्रतिबद्धताले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उदार र खुला बजार बनाएको छ ।”  

नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “नियामक ढाँचालाई थप सुधार गर्न हाम्रा साझेदारहरूबाट प्रतिक्रिया र सुझावका लागि हामी खुला छौँ ।”

मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आर्थिक समृद्धिका हाम्रा साझा लक्ष्यलाई साकार पार्न पुँजी, नयाँ प्रविधि र विशेषज्ञता ल्याई हामीसँग साझेदार हुन सम्भावित क्षेत्रमा अन्वेषण गर्न म विश्वभरका व्यवसाय र लगानीकर्तालाई आमन्त्रित गर्दछु ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधी र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरेको सो सम्मेलनमा मन्त्री भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी द्विपक्षीय र त्रिपक्षीय व्यवस्थाका साथ हाम्रा छिमेकी मुलुक भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्ने अवस्थामा छौँ ।”

साथै मन्त्री भण्डारीले नेपालले भारतसँगको आफ्नो बलियो र ऐतिहासिक सम्बन्धलाई महìव दिएको उल्लेख गर्दै दुई देशको साझा इतिहास, सांस्कृतिक सम्बन्ध र आर्थिक अन्तरनिर्भरतामा यो सम्बन्धको जरा गहिरो रूपमा गाडिएको बताउनुभयो । नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठुलो स्रोत देश रहेको उहाँले उल्लेख गर्नुभयो ।