• ७ पुस २०८१, आइतबार

‘राष्ट्रलाई सही बाटोमा लैजान प्राज्ञ क्षेत्रको सहयोग गर्नुपर्छ’

blog

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १७ गते । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा आज काठमाडौँमा ‘प्राज्ञिक भेला २०८१’ आयोजना गरिएको छ । 

भेलाको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्राज्ञले राष्ट्रलाई सही बाटोमा लैजान सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो । प्राज्ञहरूले देशको थिङ्कट्याङ्का रूपमा काम गर्नुपर्ने बताउँदै उहाँले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा-प्रतिष्ठानबिच एकरूपता र तिनले गर्ने कार्यबिच सिमाङ्कन हुनुपर्ने धारणा राख्नुभयो । 

मन्त्री पाण्डेले भेलाले निकालेको निचोडलाइ कार्यान्वयन गर्ने बताउनुभयो । प्राज्ञिक जगतले देश र समाजको हितका लागि चेतनाको निर्माण, नैतिक मूल्य-मान्यताको विकास, सुशासनको प्रत्याभूति दिनका समाजलाई मार्गनिर्देश गर्ने धारणा राख्नुभयो । 

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताउनुभयो । उहाँले भेलामा कला, साहित्य, संस्कृति, गीत-सङ्गीतलगायत समाजसँग जोडिने विषय लोक, भोक र सोखमा आधारित रहेर विशेष छलफल भएको बताउनुभयो । 

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले प्राज्ञिक बहसले मुलुकको सफ्टपावर निर्माण गर्ने बताउनुभयो । उहाँले भेलाले प्रज्ञा-प्रतिष्ठान र विचार, प्रज्ञा-प्रतिष्ठान र संस्कृति तथा प्रज्ञा-प्रतिष्ठान र ज्ञानमा आधारित भएर छलफल भएको बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्माले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा-प्रतिष्ठानहरुबिच निरन्तरको समन्वय र सहकार्यले परिणाम दिने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एकीकृत योजना बनाएर प्रभावकारी ढङ्गले योजना कार्यान्वयन गर्नका लागि भेला हुनुभएका सम्पूर्णलाई स्वागत गर्नुभयो । सो सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव कुस्मा महरा ‘प्रगति’ र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले आफूले नेतृत्व लिएका प्रतिष्ठानका विविध विषय, आगामी योजना, कार्यक्रम, प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा-प्रतिष्ठानबिच एक रुपतालगायतका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

भाषा आयोगका सदस्य डा.पुष्करराज भट्टले नेपालका विभिन्न लोपोन्मुख भाषा, संस्कृतिको संरक्षणमा आयोगले काम गर्दै आएको बताउँदै उहाँले भेलाले निर्णय गरेको सम्बन्धित क्षेत्रमा आयोगले सहकार्य गर्ने बताउनुभयो । रासस