• ७ पुस २०८१, आइतबार

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

blog

पेसावर, पाकिस्तान, मङसिर १७ गते । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ ।

विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबिच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ । पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठुलो शिया जनसङ्ख्या छ । 

त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् । नोभेम्बर २१ देखि भएको झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७  जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख  छ । विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने तथा  हतियारहरू जफत गरिने’ उल्लेख गरिएको छ ।  

बिहीबार सुरु भएको पछिल्लो लडाइँमा प्रहरी स्कर्टमा यात्रा गरिरहेका दुई अलग-अलग सवारी साधनमा आक्रमण भएपछि ४० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । झडपले यस क्षेत्रलाई ठप्प पारेको छ भने प्रमुख सडकहरू बन्द भएका छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा मोबाइल फोन सेवाहरू काटिएका छन् ।

प्रान्तीय राजधानी पेसावरका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा पहिलेका दुई सम्झौताले झडप रोक्न असफल भएपछि आदिवासीको सहयोगमा अधिकारीहरूले युद्धविराम प्रयास गरिरहेको बताउनुभएको छ । पाकिस्तानको मानव अधिकार आयोगले जुलाईदेखि अक्टोबरसम्म यस क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ७९ जनाको मृत्यु भएको जनाएको छ । रासस/एएफपी