• ८ पुस २०८१, सोमबार

तेस्रो पटक थपिएको म्यादमा पनि पुल नबन्ला भन्ने चिन्ता

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १७ गते । मोरङको निर्वाचन क्षेत्र नंं. ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँस खोलाको पुल तेस्रो पटक थपिएको समयमा पनि नबन्ला कि भन्ने चिन्ता थपिएको छ । 

कानेपोखरी गाउँपालिकाको वडा नंं. ६ सँग पथरीशनिश्चरेको वडा नंं. ९ लाई जोड्ने यो पुल २०७६ सालको जेठ २ गते शिलान्यास भएको थियो । २०७८ सालको मङ्सिर १६ गते समुदायलाई हस्तान्तरण गर्ने गरी धनुषा जिल्लाको रमन आइएसएनवी जेभीले निर्माण गर्न थालेको पुल तेस्रो पटक थपिएको समय अनुसार २०८२ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । तर सडक डिभिजन कार्यालय विराटनगरका सूचना अधिकृत शीतल पराजुलीका अनुसार हालसम्म ६१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । 

४० मिटरको पुलको एउटा स्पान ढलान भइसकेको छ भने अर्को स्पान निर्माण गर्ने सुरसार नै छैन । अधिकृत पराजुलीले भन्नुभयो, २०८२ असार मसान्तसम्ममा पुल बनिसक्छ । पछिल्लो समय लगातार काम भइरहेको छ । प्राविधिक विषय सर्वसाधारणलाई जानकारी नहुने भएकोले चिन्ता हुनु स्वाभाविकै हो । 

१४ करोड ४९ लाख ५१ हजार ८६७ रुपियाँको लागत इष्टिमेटको पुल निर्माण कम्पनीले भ्याट सहित ११ करोड ७९ लाख २ हजार ६०६ रुपियाँ ५५ पैसामा ठेक्का लिएको हो । पहिलो पटक थप गरिएको समयमा काम सम्पन्न नगरेपछि डिभिजन कार्यालयलाई स्थानीय र सांसदले समेत ठेक्का रद्ध गर्न दबाब दिएका थिए । सडक विभागले दोस्रो पटक २०८० असार मसान्तसम्ममा काम सक्ने गरी समय थप गरेको थियो । तर, उक्त अवधिमा  निर्माण कम्पनीले एक दिन पनि काम गरेन । 

सूचना अधिकृत पराजुलीले भन्नुभयो, ५९ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको छ । प्राविधिक कहीँ काम बाहिर सबै काम तीव्र रूपमा भइरहेको छ। 

मोरङ–३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनिल शर्माले पुल समयमा निर्माण गर्न पटक पटक दबाब दिएको बताउनुभयो । निर्वाचन क्षेत्रका दुई पालिका जोड्ने यो पुल नहुँदा गाडीबाट खोला तर्न पूर्व पश्चिम राजमार्ग नै पुग्नु पर्ने बाध्यता रहेको छ । उहाँले निर्वाचन क्षेत्रहरूलाई जोड्ने पुललाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।