• ८ पुस २०८१, सोमबार

राजनीतिक अस्थिरताले काम गर्नै सकिएन : मन्त्री लेखी

blog

मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी। तस्बिर : जनार्जन खत्री

सर्लाही, मङ्सिर १६ गते। मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले राजनीतिक अस्थिरताका कारण छिटो-छिटो सरकार फेरिँदा काम गर्न समस्या परेको बताउनुभएको छ। 

सर्लाहीको लालबन्दीमा आइतबार आमसञ्चार प्राधिकरण मधेश प्रदेशले आयोजना गरेको पत्रकारको स्वास्थ्य तथा दुर्घटना बिमा कार्यान्वयन तथा पत्रकारिता अध्ययन छात्रावृत्ति र प्रोत्साहन मस्यौदामाथि छलफलमा मन्त्री लेखीले सो कुरा बताउनुुभएको हो। नागरिकका अपेक्षा धेरै रहेका तर सरकार नै स्थिर नहुँदा उपलब्धि हुने गरी काम गर्न नसकिएको मन्त्री लेखीको भनाइ छ। 

उहाँले आफू दुई महिना कानुन मन्त्री, डेढ महिना गृहमन्त्री, दुई महिना शिक्षा मन्त्री र त्यसपछि फेरि विगत तीन महिनादेखि गृहमन्त्री रहेको बताउँदै एउटा मन्त्रालयमा दुई महिना मात्रै बस्दा जनचाहना अनुसार काम गर्न नसकेको उल्लेख गर्नुभयो। कम्तीमा पनि एक वर्ष एउटै मन्त्रालयमा बसेर काम गर्न पाए उपलब्धि हुने खालका काम गर्न सकिने मन्त्री लेखीको भनाइ छ। 

मन्त्री लेखीले सचिव, लेखापाललगायतका कर्मचारीको समेत दुई महिनामै सरुवा हुँदा थप समस्या पर्ने गरेको गुनासो गर्नुभयो। प्रदेश सरकारका सञ्चारमन्त्री लेखीले दुई दशकसम्म पत्रकारिता गर्ने पत्रकारलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले पत्रकारका समस्या तथा माग सम्बोधन गराउन संस्थागतरुपमै सरकार प्रमुखसँग भेट गरेर पहल गर्न सुझाव दिनुभएको छ। मन्त्री लेखीले फरक प्रसङ्गमा जनकपुरधामस्थित प्रदेश सरकारका विभिन्न मन्त्रालय अगाडि अत्यधिक फोहोरमैला रहेको र बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत फोहोरमैला हटाउने काम नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। 

अब बाध्य भएर मन्त्रालय आफैले फोहोरमैला समेत सङ्कलन गर्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले यसअघि कर्मचारी अभावमा पत्रकारको स्वास्थ्य बिमाका लागि विनियोजित रकम खर्च गर्न नसकेको दुःखेसो पोख्नुभयो। 

उहाँले यो वर्ष प्रदेशभरका एक हजार पत्रकारको स्वास्थ्य बिमा गर्न पुग्ने बजेट विनियोजन भएको जानकारी दिनुभयो। प्राधिकरणका अध्यक्ष यादवले अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापनको रकम पाउने व्यवस्था गर्न लागिपरेको बताउनुभयो। 

कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारले स्वास्थ्य बिमा र पत्रकारिता अध्ययन छात्रावृत्तिको विषयमा आ-आफ्नो सुझाव व्यक्त गरेका छन्।