• ८ पुस २०८१, सोमबार

रुकुमको सानीभेरीमा ७० प्रतिशत मत खस्यो

blog

मतदान गर्न लाइनबद्ध मतदाताहरु ।

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १६ गते । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडा अध्यक्ष पदका लागि आज भइरहेको उपनिर्वाचनमा ७०.७९ प्रतिशत मत खसेको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको मतदानस्थलमा बिहान ७ः२५ बजेबाट मतदान सुरु भएको हो । 

सहायक निर्वाचन अधिकृत गोविन्दप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेसम्म ७०.७९ प्रतिशत मत खसेको छ । जम्मा एक हजार ४३४ मतदाता मध्य एक हजार १५ जनाको मत खसेको हो । दिउँसो २ बजेसम्म ४६० जना पुरुष र ५५५ जना महिलाले मतदान गरेका छन् । 

यहाँ कायम गरिएको एक मतदानस्थलमा दुई केन्द्र बनाइएको छ ।  मतदान केन्द्र (क) मा सात सय र केन्द्र (ख) मा ७३४ मतदाता गरेर यहाँ जम्मा एक हजार ४३४ जना मतदाता रहेका छन् । मतदातामध्ये ७४४ पुरुष र ६९० महिला छन् ।

अहिलेसम्म शान्तपूर्वक मतदान भयरहेको छ । बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक वडाध्यक्ष पदका लागि दुई जना उम्मेदवारबिच प्रतिस्पर्धा छ। नेपाली कांग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । 

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएका अलबहादुर खत्रीको गत वर्ष उपचारको क्रममा निधन भएको थियो ।