• ९ पुस २०८१, मङ्गलबार

चिसो छल्न गाउँ छोड्दै घुन्साका बासिन्दा

blog

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा बस्ती । तस्बिर ः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते । ताप्लेजुङको हिमाली बस्ती लेलेप घुन्साका बासिन्दाले चिसो छल्न गाउँ छाड्न सुरु गरेका छन् । जाडो बढ्न सुरु भएपछि चिसो छल्न अर्थात् चिसोबाट जोगिनलाई घुन्साका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप घुन्साको उचाइ समुद्री सतहदेखि तीन हजार ४७५ मिटर छ । जिल्लाकै उच्च हिमाली बस्ती ओलाङ्चुङगोलाको याङ्मा (चार हजार २०० मिटर) पछि दोस्रो उचाइमा रहेको हिमाली बस्ती घुन्सा हो । पछिल्लो केही दिनयता चिसो अत्यधिक बढ्न थालेकाले गाउँ छाड्न सुरु भएको घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । 

शेर्पाका अनुसार हालसम्म चार÷पाँच परिवारले घुन्सा छोडिसकेका छन् । चिसो छल्न गाउँ अर्थात् घुन्सा छाड्ने परिवारहरू काठमाडौँ जानुभएको पनि शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल घुन्सामा ३३ परिवारको बसोबास छ । उक्त सङ्ख्यामध्ये आठ÷नौ परिवारबाहेक सबैले चिसो छल्न गाउँ छाड्ने गरेको उहाँको भनाइ छ । 

शेर्पाको परिवारले पनि अबको एक साताभित्र घुन्सा छोड्ने तयारी छ । यस पटकको चिसो छल्न घुन्सा छोडेर सदरमुकाम फुङ्लिङ गएर बस्ने योजना रहेको उहाँले सुनाउनुभयो । फलेकी स्थानीय फुटी शेर्पाले पनि जाडो बढ्न थालेकाले गाउँ छाड्ने योजना बनाउन थालेको बताउनुभयो । अब एक÷डेढ साता सम्ममा चिसो छल्न धेरैले गाउँ छाड्ने तयारी गरिरहेका शेर्पाको भनाइ छ । अहिले हिमपात नभए पनि हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको उहाँले बताउनुभयो । फले बस्तीको उचाइ तीन हजार २३२ मिटर छ ।

यसरी चिसो अर्थात् हिउँद याममा घुन्सा, फले, याङ्मा र मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्ने गर्दछन् । चिसो छल्न गाउँबस्ती छाड्नेहरु अधिकांस काठमाडौँ गएर आफन्त तथा कोठा भाडामा लिएर बस्ने गरेको पाइएको छ । यस्तै केही परिवार सदरमुकाम फुङ्लिङ बजार र अन्यत्र ठाउँमा गएर बस्ने गरेका स्थानीय बताउँछन् । 

यता चिसो छल्नलाई सहर बजार र अन्य स्थानमा गएकाहरू जाडो याम सकिएपछि गाउँ फर्कने गरेका छन् । गाउँ छाड्ने परिवारले फागुन महिनादेखि फर्कन सुरु गर्ने घुन्साका स्थानीय पेमा शेर्पाले बताउनुभयो । हिमाली बस्तीहरूमा जाडो याममा अत्यधिक चिसो हुनुका साथै हिमपात हुने गर्दछ । अत्यधिक चिसो हुने भेग भएकाले तुसारो र हिउँ परेपछि बरफ झैँ जम्ने र पग्लिनलाई लामो समय लाग्ने गर्छ ।