• १९ पुस २०८१, शुक्रबार

तस्बिरमा एनपिएलको उद्घाटन खेल

blog

कीर्तिपुर क्रिकेट मैदानमा शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धामा बलिङ गर्दै विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछाने। तस्बिरः प्रदीपराज वन्त/रासस

तस्बिर: प्रदीपराज वन्त/रासस

काठमाडौँ, मङ्सिर १५  गते। सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो  एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। 


जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक बनाउनुभयो। उहाँले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाउनुभएको हो। यस्तै विदेशी खेलाडी हर्ष थाकेरले अविजित रहँदै २९ रन जोड्नुभयो। यस क्रममा उहाँले ३३ बल खेल्दै दुई चौका प्रहार गर्नुभयो। कप्तान अनिलकुमार साहले पाँच रनको योगदान गर्दा आशिफ शेख शून्य रनमै पेवेलियन फर्किनुभयो।


बलिङतर्फ विराटनगरका लागि  क्रिस सोले र प्रतिश जिसीले एक–एक विकेट हात पार्नुभयो। विराटनगरले जनकपुर बोल्ट्सलाई अतिरिक्त २२ रन दिएको थियो। 

यसअघि पहिला ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रन बनाएको थियो। विराटनगर किङ्सका लागि विदेशी खेलाडी मार्टिन गप्टिलले अर्धशतक पारी खेल्नुभयो। उहाँले  ४३ बल खेल्दै एक छक्का सात चौकाको मद्दतमा ५५ रन बनाउनुभएको हो। अकिब इलियासले १५, निकालेस किर्तनले नौ, लोकेश बलले पाँच तथा बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान सात/सात रन बनाउनुभयो।


बलिङतर्फ जनकपुर बोल्ट्सका लागि ललितनारायण राजवंशीले सर्वाधिक तीन विकेट लिनुभयो। यस्तै किशोर महतो र हर्ष थाकरेले समान दुई–दुई तथा मोहमद मोहसिन र बेन माइकले समान एक एक विकेट लिनुभयो।