• १५ मंसिर २०८१, शनिबार

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी हुँदैछ : मुख्यमन्त्री कार्की

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १५ गते। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चिया क्षेत्रका समस्या समाधान गर्न र उत्पादन बढाएर निर्यातको वातावरण बनाउन कोशी प्रदेश सरकार लागि परेको बताउनुभएको छ। नेपालमा चिया खेतीको इतिहास एक सय ७५ वर्षभन्दा लामो भएको भन्दै यसको विकास र विस्तारमा लाग्न सबै पक्षको सहकार्य रहेको उहाँको भनाइ थियो ।

माङमालुङ चिया बगान लिमिटेड २८ औँ साधरण सभालाई झापाको दमकमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश चिया उत्पादनको मुख्य केन्द्र भएकाले चिया पर्यटनमा समेत जोड दिनुभएको छ।नेपालमा चिया उत्पादनको ९० प्रतिशत हिस्सा कोशी प्रदेशमा रहेको विषयमा आफू जानकार रहेको कार्कीले बताउनुभयो।

यहाँको चिया अन्तर्राष्ट्रिय बजारमा लैजानका लागि प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रूपमा काम गर्नुपर्ने अवस्था देखिएको कार्कीले उल्लेख गर्नुभयो।आफूले नीति तथा कार्यक्रममा बजेट सहित अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने योजना अघि सारेको जानकारी दिनुभयो।

विश्व बजारमा यहाँको चियालाई पुर्‍याउनका लागि सरकारले गर्नुपर्ने सहयोग गर्ने भन्दै मन्त्री कार्कीले गुणस्तरीय चिया उत्पादनमा लाग्नु पर्नेमा जोड दिनुभयो।राष्ट्रिय उत्पादनलाई बढाउनका लागि चियाको भूमिका उल्लेख्य रहनेमा आफू आशावादी रहेको उहाँले जनाउनुभयो।