राममणि दाहाल
हेटौँडा, मङ्सिर १५ गते । हेटौँडाको दुई मतदान स्थलमा मतदान केन्द्र निर्णयको काम धमाधम भइरहेको छ । स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन हुँदै छ ।
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि हुने निर्वाचन दुई वटै मतदानस्थलमा रहेको मतदान केन्द्र निर्माणमा कर्मचारी र सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।
विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेको ‘घ’ मतदान केन्द्रका मतदान अधिकृत सरोजप्रसाद पौडेल मतदान केन्द्र निर्माणमा आफैँ खटिनुभएको छ ।
उहाँले मतदान केन्द्र निर्माणसँगै आइतबार हुने मतदान कार्यका लागि आवश्यक तयारी धमाधम भइरहेको बताउनुभयो ।
निर्वाचनका लागि मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका कर्मचारी खटिएका छन् भने सुरक्षाकर्मी परिचालनलगायतका काम पूरा भएको छ ।
वडा नं. १२ को मतदानस्थल रहेका स्थानमा सर्वदलीय बैठक सम्पन्न भइसकेको छ ।
मतदानस्थलमा मतदानको दिन बस्ने आफ्ना प्रतिनिधिहरू राख्न उम्मेदवारहरू र राजनीतिक दल मतदान केन्द्रमा पुगेका छन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भन्दै शनिबार मतदान केन्द्र निर्माणसँगै निर्वाचनको सम्पूर्ण तयारी पूरा हुने जानकारी दिनुभयो ।
प्रति निर्वाचन केन्द्र पाँच–पाँच जना कर्मचारी र प्रति केन्द्र एक–एक जना स्थानीय स्वयंसेवक रहने व्यवस्था रहेको छ ।
स्थानीय स्वयंसेवक सोही मतदान केन्द्रको महिला मतदाता नै हुनु पर्ने गरी व्यवस्था गरिएको छ । वडा नं. १२ मा कूल मतदाता आठ हजार ५३ रहेका छन् ।