काठमाडौँ, मङ्सिर १५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । चीनको तीन दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको हो ।
उहाँ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुग्नुभएको उहाँले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्ता छन्दुमा नै भएको थियो ।
सो अवसरमा उहाँहरू बिचमा नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री डा. राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनुहुनेछ ।