घोराही, मङ्सिर १५ गते । दाङमा लैङ्गिक हिंसाका घटना वृद्धि भएका छन् । विगत चार वर्षको अवधिमा भएका अपराध तथा हिंसाका घटनाको तथ्याङ्कले पछिल्लो समय जिल्लामा लैङ्गिक हिंसासम्बन्धी घटनाहरु वृद्धि भएको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक इश्वर थापाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा दुई सय ३९ वटा लैङ्गिक हिंसासम्बन्धी घटनाहरु भएका छन् ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/२०८० मा एक सय २८ वटा, आर्थिक वर्ष २०७८/२०७९ मा एक सय २९ वटा र आर्थिक वर्ष २०७७/२०७८ मा दुई सय ४० गरेर चार वर्षको अवधिमा सात सय ३६ वटा लैङ्गिक हिंसासम्बन्धी घटनाहरु प्रहरीमा दर्ता भएको बताउनुभयो । सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक थापाका अनुसार लैङ्गिक हिंसाका घट्ना न्यूनीकरणका लागि प्रयास भइरहे पनि घटना नसकेको बताउनुभयो । उहाँका अनुसार बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म लैङ्गिक हिंसामा पर्ने गरेका छन् ।
समाजमा हुने हिंसा वा अपराधका घटनालाई लुकाएर राख्न नहुने भन्दै प्रहरी नायब उपरीक्षक थापाले शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि कुनै काम भए प्रहरीलाई खवर गरेर सहयोग गर्न आग्रह गरेका छन् । बदलिँदो सामाजिक परिवेशसँगै हिंसाका स्वरुपहरु पनि परिवर्तन भएको भन्दै सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरेर हुने अपराध वा हिंसाबाट बच्नका लागि स्वयम व्यक्ति सचेत हुनुपर्ने बताउनुहुन्छ ।
कतिपय घटना न्यायिक निकायमा नआउने र समाजमा सुसुप्त रुपमा रहने गरेकाले त्यस्ता घटनाबाट जोगिन र दोषीलाई कानुन दायरामा ल्याउनका लागि प्रहरीलाई नागरिकको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । अपराध तथा हिंसाका घट्नाहरुमा साना–साना बालबालिकादेखि शिक्षित भएका व्यक्तिहरु जोडिने गरेको भन्दै सूचना अधिकारी इश्वर थापाले भन्नुभयो, ‘‘लैङ्गिक हिंसाका घटना न्यूनीकरणका लागि सबै मिलेर लाग्नुपर्ने छ । सबैको सहयोगले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सकिन्छ ।’’