• ११ पुस २०८१, बिहिबार

रैथाने सीप सिक्दै विद्यार्थी

blog

सीप सिक्दै विद्यार्थी । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, मङ्सिर १४ गते ।
हातमा सीप भए भोकै बस्नु पर्दैन । ज्ञानको राजा भनेकै सीप हो । यस्तै सीपसँग सम्बन्धित धेरै भनाइहरु प्रचलनमा छन् । किताबको कुरा पढ्न विद्यालय जानुपर्छ । व्यवहारिक ज्ञान घर, समाजबाट सिकिन्छ भन्ने धारणा छ । तर पछिल्लो समय गाउँ, घर र समाजबाट सिक्न सकिने व्यवहारिक सीप विद्यालयबाट दिन थालिएको पाइन्छ ।

विद्यालयमा परम्परागतदेखि अत्याधुनिक प्रविधिका सीपहरू बालबालिकालाई सिकाउने क्रम बढेको पाइन्छ । ओखलढुङ्गाको सामुदायिक विद्यालयमध्ये मानेभञ्ज्याङ गाउँपालिका–५ मा रहेको भगवती माध्यमिक विद्यालयले ‘बुक फ्रि डे’ अर्थात् पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन गरेको छ । चालु शैक्षिक शत्रको तीन दिन किताबभन्दा बाहिरको गाउँ समाज र संस्कारसँग सम्बन्धित सीपहरु विद्यार्थीलाई सिकाइने प्रधानाध्यापक नारायणप्रसाद बास्तोलाले बताउनुभयो ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको रुचीअनुसार कपाल काट्ने, धुवाँरहित चुल्हो निर्माण, चोया, पात, खर, मकैका खोसेला (खोस्टा) र परालबाट बन्ने विभिन्न सामग्री बनाउन सिकाइएको प्रधानाध्यापक बास्तोलाले जानकारी दिनुभयो ।

यस्तै, बात्ती कात्ने, दाम्लो, नाम्लो, डोरी, पिरा, दुना, टपरी, ठहर, बोहती, डोको, पेरुङ्गोजस्ता सामग्रीहरू बुन्नु, उन्नु सिकाइएको बास्तोलाको भनाइ छ । आफ्नै घर तथा स्थानीय स्तरमा पाइने आवश्यक सामग्री, कैंची, काँगियो, चोया, पात, बाबियो, खर, खोस्टा, कपास र पुराना कागज लगायतबाट सामग्री निमार्ण गर्ने सीप विद्यार्थीहरुलाई दिइएको उहाँको भनाइ छ । आगामी दिनमा संस्कार, व्यवहार र पाक कलासँग सम्बन्धित सीपहरु विद्यार्थीलाई सिकाउने योजना रहेको प्रधानाध्यापक बास्तोलाले बताउनुभयो ।

किताबी ज्ञानसँगै विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन आवश्यक रहेको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । विद्यार्थीलाई व्यवहारिक सीप र ज्ञान दिलाउने विषयमा गाउँपालिकाले योजना बनाएर लागेको अध्यक्ष रुम्दालीको भनाइ छ । यस अघि विद्यार्थीलाई विद्यालयमै सङ्गित कक्षा सञ्चालन लगायतको काम गरिएको उहाले जानकारी दिनुभयो । बाल कक्षादेखि १२ सम्म पठनपाठन हुँदै आएको भगवती माध्यमिक विद्यालयमा करिब छ सय जना विद्यार्थी छन् ।