• ८ पुस २०८१, सोमबार

भगवान् बस्ने पिपलको रुख (कथा)

blog

शनिबार ढिलोसम्म सुत्ने बानी छ मेरो । अमेरिकाबाट सानिमा आउनुभएको छ । उहाँको छोरा रियान उमेरले मेरो भाइ हो । अघिल्लो शनिबार ढिलोसम्म सुत्न पाइएन । सानिमाले मसँगै उसलाई पनि बिहानै उठाउनुभयो । झिसमिसे उज्यालो थियो । दुवै जनाले नुहायौँ । 

आमाले रियान र मलाई फूल टिप्न अह्राउनुभयो । हामीले फूल टिप्यौँ । त्यसपछि आमा, सानिमा, भाइ र म घरनजिकैको चौतारातर्फ लाग्यौँ । चौतारामा पिपल र बरको बडेमानको रुख छ । हामी त्यहाँ पुग्दा अरू धेरै जना पनि हुनुहुन्थ्यो । चौतारामा पुगेर हामी सबैले बरपिपलको रुखको वरिपरि घुम्यौँ । अरूले पनि त्यसै गरी रुख वरिपरि घुमिरहनुभएको थियो । पिपलको रुखमुनि आमा र सानिमा बस्नुभयो । पूजा गर्नुभयो । त्यहाँ भगवान्का सानासाना मूर्ति पनि थिए । पूजा सकेपछि दुवै जनाले तामाको अम्खोराबाट पिपलको जरामा पानी चढाउनुभयो । हामीलाई पनि पानी चढाउन लगाउनुभयो । हामी घर फर्कियौँ । 

घरमा आइपुगेपछि हामी दुवैले आमा र सानिमालाई किन पिपलको रुखमा पूजा गरिएको हो भनेर सोध्यौँ । उहाँहरूले पिपलमा भगवान् हुनु भएर पूजा गरिएको बताउनुभयो । मैले र रियानले त्यहाँ भगवान्को मूर्ति मात्रै देखेका थियौँ । पिपलको रुखमा भगवान् देख्न सकिन्छ की भनेर अस्ति शनिबार पनि छिटो उठेर हेर्न गएँ । कतै पनि भगवान्लाई देखिन । घर आएर आमासँग जिज्ञासा राखेँ । उहाँले म सानो भएकाले नदेखेको भन्नुभयो । आमाको कुरामा विश्वास गरेँ । ठुलो भएपछि पक्कै देख्न सक्छु भन्ने लाग्यो ।  

आज विज्ञान विषयका शिक्षकले अक्सिजनका बारेमा पढाउँदै हुनुहुन्थ्यो । पिपलको रुखमा धेरै अक्सिजन पाइन्छ रे । अनि शिक्षकलाई मैले सोधेँ, “सर, पिपलको बोटमा भगवान् पनि बस्नुहुन्छ रे । हामीलाई बचाउन भगवान्ले अक्सिजन धेरै दिनुभएको होला, हैन र ?” उहाँले भन्नुभयो, “भगवान् बस्नु हुन्न होला तर पिपलको रुखबाट धेरै अक्सिजन उत्पादन हुन्छ । त्यसैले हामीले यसलाई माया गर्नु पर्छ । काट्न हुँदैन । चोक चोकमा रहेका पिपलको चौतारामा बस्दा धेरै अक्सिजन पाइन्छ । सास फेर्दा अक्सिजन लिने गर्छौं । त्यसैले अक्सिजनले नै हामीलाई बचाउँछ ।” 

ए ! मैले बल्ल कुरो बुझेँ । अक्सिजन पाइने भएर पिपलको पूजा गरिँदो रहेछ । दिउँसो पनि चौतारामा धेरै जना बस्नु हुँदो रहेछ । मैले शिक्षकलाई पुनः सोधेँ, “पिपलको चौतारामा कहिलेकाहीँ बस्यौँ भने पनि पर्याप्त अक्सिजन लिन सकिने रहेछ । त्यसले गर्दा बढी समयसम्म बाँच्न सकिने रहेछ हैन त सर ?” उहाँले ‘ठिक भन्यौ’ भन्नुभयो ।  

मैले शिक्षकलाई उसो भए हाम्रो स्कुलमा पनि पिपल रोपौँ भनेँ । “पिपलको रुख ठुलो भएपछि चौतारा बनाई त्यहाँ बसेर टिफिन खानु पर्छ । अनि हामीले अक्सिजन पनि पाउँछौँ,” मैले भनेँ । अनि शिक्षकले मलाई भोलि स्कुल आउँदा पिपलको बिरुवा ल्याउनू भन्नुभयो ।  

   मुना 

Author

सृजना अर्याल