• ८ पुस २०८१, सोमबार

‘कृषिमा आधुनिकीकरणसहित व्यावसायिकतामा जोड दिएका छौँ’

blog

गरुडा नगरपालिका रौतहटको सदरमुकाम गौरदेखि २२ किलोमिटर उत्तर र पूर्वपश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका खण्डदेखि २० किलोमिटर दक्षिणमा रहेको छ । नौ वटा वडा रहेको यस नगरपालिकाको क्षेत्रफल ४४.४६ वर्ग किलोमिटर छ । जातीय, धार्मिक, भाषिक, सांस्कृतिक, विविधता रहेको यस नगरपालिकाको व्यापार र कृषि मुख्य आम्दानीको स्रोत मानिन्छ । पालिकाको वडा नं. ५ शिवनगरमा रहेको शिव मन्दिर हिन्दु धर्मावलम्बीको मुख्य आकर्षक धार्मिक स्थलका रूपमा लिइन्छ । विविध धर्म र संस्कृति मान्ने व्यक्तिको बसोबास रहेको नगरपालिकामा मुख्यतः बज्जिका भाषा बोलिन्छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट विजयी हुनुभएका कन्थमणिप्रसाद कलवार नगरप्रमुख हुनुहुन्छ । उहाँसँग गोरखापत्र दैनिकका रौतहट समाचारदाता यादवराज पुरीले गर्नुभएको कुराकानी :

निर्वाचनका क्रममा जनतासँग गर्नुभएका प्रतिबद्धता के कति पूरा भए ?

निर्वाचनको क्रममा जनतासँग गरिएका प्रतिबद्धता पूरा हुने क्रममा छन् । निर्वाचनअघि उम्मेदवार हुँदा जनतासँग गरिएका शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रको विकास र विस्तारका वाचा क्रमशः पूरा गर्दै छु । नगरभित्रका कच्ची बाटोलाई कालोपत्रे, ढलान तथा ग्राभेलयुक्थ बनाइँदै छ ।  कृषि क्षेत्रमा आश्रित यहाँका अधिकांश नागरिकको कृषि उत्पादन वृद्धिका लागि समयमा कृषि सामग्री, मलखाद र उन्नत बिउ उपलब्ध गराउन पालिकाले विशेष भूमिका निर्वाह गरिरहेको छ । कृषिविज्ञको समेत व्यवस्था गरी विभिन्न प्रकारका तालिममा कृषकलाई सहभागी गराई उत्पादन वृद्धि गराउने काम निरन्तर भइरहेको छ । उखु उत्पादन मुख्य बाली भएको यस नगरपालिकामा श्रीराम सुगर मिल्स बन्द भएपछि उखु खेतीप्रति किसान निराश बनेका छन् । यसको विकल्पमा माछापालन र तरकारी खेती किसानको मुख्य रोजाइँमा परेको छ । स्थानीय उत्पादनलाई बजारीकरण गर्न हाटबजार व्यवस्थापन गरिएको छ । खाद्यान्न, तरकारी तथा दलहन बालीको उत्पादन वृद्धि गर्ने उद्देश्यले नदी तथा भूमिगत पानी निकाली सिँचाइ सुविधा उपलब्ध गराउन नौ वटै वडामा किसानले प्रयोग गर्ने विद्युतीय कृषि मिटरको महसुलसमेत नगरपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । खाद्यान्न, तरकारी तथा फलफूललाई लामो समयसम्म ताजा तथा गुणस्तरीय कायम राख्न र बजार भाउ वृद्धि भएपछि बजारीकरण गरी राम्रो आम्दानी गर्न करिब साढे छ करोड रुपियाँको लागतमा शीतभण्डार निर्माण हुँदै छ । 

हाल नगरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा के कस्ता सुधार भएका छन् ?

शिक्षक अभावले अध्यापन प्रभावित भइरहेको अवस्थामा पालिकाले आधारभूत, निम्न माध्यमिक र माध्यमिक विद्यालयमा २४ जना शिक्षक करारमा नियुक्त गरेको छ । पालिकाका विद्यालयमा भौतिक तथा शैक्षिक वातावरण सन्तुलन राख्न पालिकाले कुनै कसुर बाँकी राखेको छैन । मुस्लिम बाहुल्य स्थानमा मदरसा शिक्षा सञ्चालन गरिएको छ । उच्च शिक्षा हासिल गर्न जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने कार्य भइरहेको छ । पालिकाले स्वास्थ्यको क्षेत्रमा पनि विशेष योगदान गरेको छ । पालिकाको वडा नम्बर ५ र ६ मा एक/एक वटा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ, जसले गर्दा महिलालाई प्रसूति सेवा लिन अन्यत्र जानु पर्दैन । पालिकामा जीर्ण अवस्थामा रहेको एम्बुलेन्सलाई मर्मत गरी प्रयोगमा ल्याइएको छ । बृहत् पोषण कार्यव्रmम गरी छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण जाँच गरी कुपोषित बालबालिकालाई स्वस्थ बनाउन विभिन्न कार्यव्रmम गरिएको छ । १५ श-याको नगर अस्पताल निर्माणका लागि जग्गा खरिद भई प्रव्रिmया अगाडि बढेको छ । नगरवासीको सेवासुविधाका लागि सहरी स्वास्थ्य केन्द्रको विस्तार गरिएको छ । 

नगरपालिकाको दिगो आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो छ ? 

नगरपालिकाको दिगो आन्तरिक आर्थिक स्रोत अन्तर्गत गरुडा पशुबजार, शिवनगर र रघुनाथपुर तरकारी बजार, पोठियाही माछा पोखरीलगायतको ठेक्का पर्दछ । जसबाट वार्षिक २५ लाख रुपियाँभन्दा बढी आम्दानी हुन्छ । यसै गरी सिफारिस, मालपोत असुली र अन्य राजस्व सङ्कलनबाट वार्षिक सालाखाला १५ लाख रुपियाँ आम्दानी हुँदै आएको छ । घर बहाल तथा व्यवसाय कर न्यून छ । प्रदेश सरकारको मातहतमा रहेका नदीजन्य पदार्थको उत्खनन र बिव्रmीवितरण ठप्प छ । 

नगरपालिकाको काम कारबाहीमा के कस्ता चुनौतीको सामना गर्दै हुनुहुन्छ ? 

गरुडा नगरपालिकाको चुनौती भनेकै राजनीतिक दबाब हो । कर्मचारी नियुक्तिदेखि विभिन्न विकास निर्माणका काममा विपक्षी दलका नेता तथा कार्यकर्ताको दबाब आउने हुँदा पालिकाको कार्यसम्पादनमा कहिलेकाहीँ अवरोध हुने गरेको छ । पछिल्लो समयमा पालिकाले ऐन नै निर्माण गरी कार्यान्वयन पक्षलाई सुदृढ गरेपछि कार्यसम्पादन सहज भएको छ । 

नगरपालिकामा रहेका दलित तथा विपन्न नागरिकका समस्यालाई कसरी हेर्नुभएको छ ?

नगरपालिकामा दलित, विपन्न तथा गरिब वर्गको पनि बाहुल्य छ । उनीहरूको उत्थानका लागि विभिन्न प्रकारका सहयोगात्मक कार्य भइरहेको छ । पालिकाले दुई वर्षदेखि त्यस्ता वर्गको हितलाई ध्यानमा राखेर २० वर्ष उमेर पुगी विवाह गर्ने छोरीको परिवारलाई प्रतिपरिवार २५ हजार रुपियाँ सहयोग उपलब्ध गराउँदै आएको छ । हालसम्म ३० जना परिवारले उक्त सहयोग पाएका छन् । यसै गरी विपन्न दलित परिवारका उमेर पुगेका २५ जना छोरीको चालु आर्थिक वर्षमै सामूहिक विवाह गरिदिने पालिकाको परिषद्बाट निर्णय भएको छ । यसबाट दाइजो प्रथा न्यूनीकरणमा निकै ठुलो उपलब्धि हासिल हुने पालिकाको बुझाइ छ । 

नगरपालिकालाई सक्षम र सबल बनाउन के के योजना ल्याइए ?

नगरको दिगो विकास गर्न पहिलो प्राथमिकतामा कृषि पेसालाई आधुनिकीकरण गरी व्यावसायिक बनाउन जोड दिइने छ । कृषि पेसालाई आधुनिकीकरण गर्न पालिकाले हरेक किसानको सिँचाइ महसुल तिर्दै आएको छ । बिउ बैङ्क स्थापना गर्न ३० लाख रुपियाँको बजेट विनियोजन गरिएको छ । शीतभण्डार निर्माणमा साढे छ करोड, तरकारी सङ्कलन केन्द्र निर्माणमा एक करोड तिस लाख, भैँसी र बाख्रापालनमा ९० लाख रुपियाँ विनियोजन गरिएको छ । यी सबै किसानका हितमा छन् । माछापालन र कृषिको आधुनिकीकरणका लागि किसानको व्यापक सहभागी बनाई विभिन्न किसिमका तालिम उपलब्ध गराइएको छ । माछापालनको अत्यधिक सम्भावना रहेको यस नगरपालिकामा माछापालक किसानका लागि पनि योेगदानमूलक कार्यक्रम ल्याइएको छ । यसै गरी एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत कृषि रोजगारीको सिर्जना गरी पालिकाका दलित तथा गरिब युवालाई विदेश पलायन हुनबाट रोक्ने तयारीमा नगरपालिका अग्रसर छ । गरिब, दलित एवं विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा, बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम योजनामै परेको छ ।