• २१ पुस २०८१, आइतबार

‘समृद्धिका लागि बलियो राजनीतिक पार्टीको आवश्यकता’

blog

कीर्तिपुरमा आयोजित सभामा एमाले महासचिव शंकर पोखरेलसहित पार्टीका नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १३ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि धेरै नभइ बलियो राजनीतिक पार्टीको आवश्यकता भएको बताउनुभएको छ । कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । 

महासचिव पोखरेलले भन्नुभयो, “छ महिनामा मन्त्री फेरिने, डेढ–दुई वर्षमा प्रधानमन्त्री फेरिने जे परिपार्टी छ, यो परिपाटी अब सधैंका लागि अन्त्य हुनुपर्दछ । देश विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका लागि धेरै राजनीतिक पार्टी होइन, बलिया राजनीतिक पार्टीको आवश्यकता पर्दछ ।”

उहाँले छिमेकी मुलुकहरु चीन विश्वको सबैभन्दा सबल राष्ट्रको रुपमा उदय भइरहेको तथा भारत पनि विश्व अर्थतन्त्रको प्रतिस्पर्धामा निरन्तर अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चीनमा हेर्नुभयो भने त्यहाँ कार्यकारी राष्ट्रपति हुने गर्दछ । सी चिनफिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तेस्रो कार्यकाल राष्ट्रपतिका रुपमा काम गर्दै हुनुहुन्छ । विश्वको सबैभन्दा सबल राष्ट्रको रुपमा चीनको उदय हुँदैछ । अर्कोतिर हाम्रो छिमेकी मुलुक भारत, विश्व अर्थतन्त्रको प्रतिस्पर्धामा निरन्तर अगाडि बढ्दैछ । त्यहाँ कार्यकारी प्रधानमन्त्री हुने गर्दछ । नरेन्द्र मोदी तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ । तर हाम्रो मुलुकमा त्यही समयमा हामीले कति प्रधानमन्त्री जन्मायौं भन्नुस् त । 

उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरताका कारण हाम्रो देश बन्न सकेन । अब हामीले सङ्कल्प गर्न सक्नु पर्दछ, अब नेपालमा धेरै राजनीतिक दलहरु होइन, ३२ सिटले म्याजिक् नम्बर भन्दै जनताले अस्वीकार गरेकाहरुले शोषण चलाउने युगको अन्त्य गर्नु पर्दछ । बलियाले नै यो देशको नेतृत्व गर्ने हो । नीतिको आधारमा मुलुकको नेतृत्व गर्नुपर्दछ ।”

उहाँले देश बनाउनका लागि राजनीतिमा युवाको प्रवेश हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देश बनाउने हो भने अब युवाहरु राजनीतिमा आउनु पर्दछ । आज जसप्रकारको परिस्थिति छ, नेपालमा केही छैन भन्ने युवाहरु जसरी विदेश पलायन हुने प्रवृत्ति बढेको छ, यसप्रकारको बाटोबाट देश बन्न सक्छ कि सक्दैन भन्दाखेरि बन्न सक्दैन । म तपाईहरुको बिचमा भन्न चाहन्छु । जतिबेला एमालेको सरकार हुने गरेको छ, युवाहरुको विदेश पलायनताको दर घट्ने गरेको छ । जतिबेला एमालेभन्दा बाहेकका सरकारमा पुग्ने गर्दछन्, युवाहरुको पलायनता बढ्ने गर्दछ ।”