विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १३ गते । झापाको शिवसताक्षी नगरपालिकामा एकैसाथ एक सयभन्दा बढी प्रजातिका रैथाने धानको बीउको प्रयोगबाट धान उत्पादन गरिएको छ । कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले लोपाेन्मुख अवस्थामा पुग्न लागेका रैथाने धानको बीउ उत्पादनका लागि एकै ठाउँमा नमुना प्रयोग गरेको थियो ।
शिवसताक्षी नगरपालिका ७ मा सय ७ प्रजातिको लोपोन्मुख धानको बीउ उत्पादन गर्न सफल बनेको समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । एकदशक अघिदेखि आफूहरुले रैथाने धानको क्षेत्रमा काम गर्दै आएको र यो सफल बन्दै गएको उहाँले जनाउनुभयो ।
नेपालमै सबैभन्दा धेरै प्रजातिको धान एकैठाउँमा प्रयोग भएको यो नै पहिलो हुनसक्छ, व्यवस्थापक अधिकारीले भन्नुभयो । सबैको साथ र सहयोगले यो सफल भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार मार्सी धानको समेत यहाँ प्रयोग गर्दा प्रतिफल राम्रो आएको बताउनुभएको छ । पश्चिममा मात्र खेती हुने भनिएको मार्सी पनि यहाँ राम्रो फल्ने रहेछ, उहाँले भन्नुभयो ।
उन्नत बीउ खोजी गर्दा पुराना रैथाने बीउ लोप बन्दै गएको बेला बीज संरक्षण तथा परिक्षणको क्षेत्रमा आफूहरुले काम गर्दै आएको समितिकी व्यवस्थापक जमुना मगरले बताउनुभएको छ । आफूहरुले धानको बीउ बैंक स्थापना गरेर किसानहरुलाई सहज रुपमा चाहेको धानको बीउ उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।
झापामा धान खेतीका लागि उर्वर रहेको र सबैभन्दा बढी धानखेती हुने गरेको जनाउँदै रैथाने धान उत्पादनमा यसले टेवा पुग्ने अपेक्षा लिइएको उहाँ बताउनुहुन्छ । आफूहरुले राम्रो बीउ उत्पादन गरेपछि यसमा किसानहरु आकर्षित भएर पछिल्लो समयमा कालो नुनिया धान उत्पादन बढेको उहाँको दाबी छ ।
जिल्लामा वर्षेनी एक लाख हेक्टरमा धानखेती हुँदै आएको छ । यसबाट करिब ४ लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।