• १३ मंसिर २०८१, बिहिबार

मनाङमा चिसो बढ्यो

blog

चिसोले जमेको तिलिचो ताल

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर १३ गते । जाडो मौसम सुरु भएसँगै मनाङमा चिसो ह्वात्तै बढेको छ । चिसो बढ्दा यहाँका नदी, खोला र ताल जम्न थालेका छन् । 

मङ्सिर आधाआधीमा जाडो बढ्दै जाँदा नदी, खोला र तालतलैया जमेर चट्टान बनेका छन् । उचाइ अनुसार नै यस क्षेत्रका नदी, ताल, खोलाको पानी चिसोले जम्ने गर्दछ । तीन हजार मिटरमाथिका अधिकांश नदी, खोला, हिमताल जम्दै गएका हुन् ।

चार हजार ९ सय १९ मिटरमा उचाइमा अवस्थित तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल (आइसलेक), धारापानीको नाचैमा पर्ने डोना ताल र थोँचेमा पर्ने पोङ्कर लगायतका हिमताल जमेको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङले जानकारी दिनुभयो । चिसो बढेसँगै खानेपानीको मुहानसमेत जम्दै गएका छन् । 

चिसोले मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ८ देखि माइनस १२ डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका मनाङले जनाएको छ । तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जम्न थालेको स्थानीयले जनाएका छन् ।

मनाङमा मङ्सिर–पुसदेखि फागुनसम्म हिमतालका पानी जमेर चट्टान भएका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका नदी, खोला, हिमताल जम्न थालेका छन् । सशस्त्र प्रहरी बल नेपाल मनाङका अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ । चिसो बढेसँगै धारामा पानीसमेत जम्ने गरेको छ । 

चिसो बढेसँगै मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका स्थानीय बताउँछन् । चिसोका बावजुद पनि मनाङका ताल हेर्न पर्यटक भने आउने क्रम जारी छ । हिमताल भएको स्थान भएकाले पनि मनाङ बाह्य तथा आन्तरिक पर्यटकको केन्द्र बनेकोे छ । चिसो समयमा जम्ने, हिउँ परेपछि अझ ती तालतलैया हिउँले ढाकिने र गर्मीयाममा पग्लिएपछि हिमाली छायाँ देखिने दृश्यले पर्यटक लोभिने गरेका छन् । 

पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङका अनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषता नै हुन् । पर्यटकहरु चिसोले नदी, खोला, तालतलैयाका जमेका चट्टानमा खेल्न रुचाउने गरेको पाइएको छ ।