एकादेशको कुनै पहाडी भूखण्डमा बाँदरहरूको एक झुन्ड बसोबास गर्दथ्यो । एक दिन त्यस क्षेत्रमा उत्पातको हुरी चल्यो, हिमपात भयो, घनघोर पानी प¥यो । बाँदरहरूको बिजोग भयो । प्राकृतिक प्रकोपबाट बच्न ती यत्रतत्र भौँतारिन थाले तर ओत लाग्ने कुनै न्यानो ठाउँ फेला पार्न सकेनन् ।
तीमध्ये केही बाँदरले आगाका फिलिङ्गा जस्ता लाग्ने गुञ्जाफल (सानो जातको फल) बटुले र त्यसैको थुप्रो वरिपरि बसेर मुटु हल्लाउने जाडोबाट बच्ने व्यर्थको प्रयास गर्न लागे ।
नजिकैको रुखको हाँगामा बसेर सूचीमुख नामको एउटा चराले बाँदरहरूको व्यर्थको प्रयास हेरिरहेको थियो । उसले भन्यो, “ए बाँदरहरू हो ! तिमीहरू त साह्रै मूर्ख रहेछौ । तिमीहरूले जे बटुलेर ल्यायौ र जसको वरिपरि तिमीहरू बसेर जाडो भगाउने प्रयास गरिरहेका छौ, ती आगाका फिलिङ्गा होइनन् । ती त गुञ्जाफल हुन् । यो व्यर्थको परिश्रमले तिमीहरूलाई के फाइदा हुन्छ, लौ भन ? बरू अलि छिटो ओत लाग्न सकिने अनि हावा नचल्ने ठाउँ खोज ।”
त्यो चराले यस्तो बेलामा कुनै गुफा वा पहाडको कुनाकन्दरामा आश्रय खोज्नु राम्रो हुन्छ भन्ने सुझाव दिन्छ । आकाश अझै मेघा गर्जिरहेको छ, कुनै पनि बेला अझ ठुलो वर्षा हुन सक्छ, हुरी चल्न सक्छ, हिमपात हुन सक्छ, त्यसैले बेलैमा ज्यान जोगाउने उपाय गर भनेर पनि चराले भन्छ ।
सूचीमुखको कुरा सुनेर एउटा बुढो बाँदरले भन्यो, “हे पटमूर्ख चरा ! तिम्रो यस व्यर्थको प्रयासले उपदेशले कसलाई के फाइदा हुन्छ ? हामी जुन समस्या झेलिरहेका छौँ, त्यो हाम्रो सङ्कट हो । तिमीलाई केको खस खस ? तिमी आफैँ कुनै सङ्कटमा फस्न चाहन्नौ भने यहाँबाट भागिहाल ।”
नीतिवचन उद्धृत गर्दै बुढो बाँदरले थप्यो, “आफ्नो भलाइ चाहने व्यक्तिले कुनै काम सम्पन्न गर्न नसकेको व्यक्ति र हारेको जुवाडेसँग कुराकानी गर्न हुँदैन । सिकारी, असफल, मूर्ख तथा आपत्मा परेको व्यक्तिसँग जो व्यक्ति वार्तालाप (कुराकानी) गर्छ, त्यो व्यक्ति तिरष्कृत त हुन्छ ।”
तर सूचीमुखले त्यो बुढो बाँदरको सल्लाह सुनेको नसुन्यै गरी उही रट लगायो, “हे साथी हो ! यो व्यर्थको प्रयासले तिमीहरूलाई के फाइदा हुन्छ हँ ? बरु जतिसक्दो छिटो हावा, हिउँ र दर्के झरीबाट बच्ने उपाय गर, यसैमा तिमीहरूको कल्याण छ ।”
जति सम्झाउँदा पनि सूचीमुखले आफ्नो कच कच बन्द गरेन । अब त अति भयो भनी त्यस झुन्डको एउटा अत्यन्तै रिसाएको बाँदरले सोच्यो । उसले एक झम्टमा सूचीमुखका पखेटा समातेर नजिकैको ढुङ्गामा बेस्सरी पछारिदियो । तत्कालै सूचीमुखको प्राणपखेरू उड्यो ।
भनिएकै छ, “ग्रहणशीलता नभएको व्यक्तिलाई, कुपात्रलाई शिक्षा दिनु हुँदैन । मूर्खलाई उपदेश दिँदा उनीहरू झन् रिसाउँछन् ।” सर्पलाई दुध पिलाउँदा उसको विष शान्त हुँदैन, झन् बढ्छ ।
(पञ्चतन्त्रमा सङ्गृहीत एउटा कथाको नेपाली अनुवाद)