• २३ पुस २०८१, मङ्गलबार

नौबस्ता बाल सुधारगृहबाट भागेका १२ मध्ये नौ जना पक्राउ

blog

बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा रहेको बाल सुधार गृह । तस्बिर ः सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १३ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधारगृहबाट बुधवार साँझ फरार भएका १२ जनामध्ये ९ जना बाल बिजाइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बुधवार साँझ खाना खुवाउने क्रममा बाल बिजाइँकर्ता फरार भएको र सो लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतका प्रहरी युनिटहरूबाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरी नौ जनालाई राती नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताउनुभयो । 

उहाँले अझै तीन जना बाल बिजाइँकर्ता फरार रहेको जनाउँदै उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले नेपाल भारत नाकालगायत विभिन्न स्थानमा प्रहरी परिचालन गरेर फरार बाल बिजाइँकर्ताको खोजी गरिरहेको छ । 

बाँकेका बाल सुधार गृहबाट बाल बिजाइँकर्ता भागेको यो पहिलो घटना भने होइन । नेपालगन्जको डुडुवामा रहेको जयन्दु बाल सुधारगृह र नौबस्तास्थित क्षेत्रीय कारागारमा रहेको बाल सुधारगृहबाट पटक पटक बाल बिजाइँकर्ताहरु फरार हुने गरेका छन् । 

गत कात्तिक २६ गते पनि नौबस्ता बाल सुधार गृहबाट ३ जना बाल बिजाइँकर्ता भागेका थिए भने उनीहरू अहिले सम्म भेटिएका छैनन् । सोही प्रकारले नेपालगन्जको बाल सुधारगृहबाट भागेका दुई जना भारतीय बाल बिजाइँकर्ता पनि अझै फेला परेका छैनन् । 

सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको नौबस्ता बाल सुधारगृहमा अग्लो पर्खाल भए पनि बाल बिजाइँकर्ताहरु भाग्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी कार्कीले भन्नुभयो–‘के कसरी उनीहरू भागे भन्ने अनुसन्धान सुरु गरेका छौँ । खोजीमा जिल्लाका सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।’

उता, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जिल्लामा पटक पटक यस्तो घटना हुनु चिन्ताको विषय भएको भन्दै यस विषयमा सुरक्षा समितिबाटै सुधार गृहको सुरक्षाको विषयमा निर्णय गरेर गृह मन्त्रालयलाई पठाइने बताउनुभयो ।

उहाँले साथै बाल सुधारगृहमा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएको जनाउँदै सुधार गृहका लागि कानुनी र नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । 

गत केही वर्षदेखि नेपालगन्जको बाल सुधार गृहमा पटक पटक झडप, कुटपिट र विवाद हुने तथा सोही मौका छोपेर बाल बिजाइँकर्ताहरु फरार हुने गरेका घटना निरन्तर हुँदै आएका छन् ।