• २३ पुस २०८१, मङ्गलबार

प्रस्तावित लोकमार्गको अवलोकन

blog

पालिकाका जनप्रतिनिधि प्रस्तावित लोकमार्गको अवलोकन गर्दै ।

बुटवल समाचारदाता

बुटवल, मङ्सिर १३ गते । रुपन्देही र कपिलवस्तुका जनप्रतिनिधिले प्रस्तावित लुम्बिनी प्रदेशस्तरीय लोकमार्गको स्थलगत अवलोकन गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकामा पर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कपिलवस्तु जिल्लाको महाराजगन्ज जोड्ने प्रस्तावित प्रदेशस्तरीय सडकको जनप्रतिनिधिले मङ्गलबार अवलोकन गरेका हुन् । 

भैरहवाको गौतम बुद्ध विमानस्थलबाट लुम्बिनी प्रदेशको राजधानी दाङ जान सहज हुने तथा लोकमार्ग निर्माणबाट पिछडिएको स्थानलाई माथि उठाउनसमेत सहयोग पुग्ने बताइएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले उक्त सडक क्षेत्रका पर्यटकीय एवं धार्मिक सम्पदालाई समेत समेट्ने गरी निर्माण गरिने सडकका लागि प्रदेश सरकारसँग पनि छलफल अघि बढेको बताउनुभयो । 

मङ्गलबार कपिलवस्तुको तौलिहवामा बसेको दुई जिल्लाका पालिकाका प्रतिनिधिको बैठकले प्रस्तावित सडकको नाम शुद्धोधन लोकमार्ग राख्ने सहमतिसमेत भएको छ । शुद्धोधन भगवान् गौतम बुद्धका छोराको नाम हो । सो लोकमार्ग ३८ देखि ४० किलोमिटर लामो हुने अनुमान गरिएको छ । प्रस्तावित लोकमार्ग निर्माण सम्पन्न भएपछि यात्रुलाई भैरहवाबाट कपिलवस्तु तथा दाङ जान करिब ६० किलोमिटर दुरी कम हुने छ ।  

रुपन्देहीका पाँच पालिका मायादेवी, सियारी, गैडहवा, शुद्धोधन, कञ्चन गाउँपालिका तथा कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, महाराजगन्ज नगरपालिकाबिच लोकमार्ग बनाउने सहमति अनुसार मङ्गलबार सडकका लागि प्रस्तावित स्थानको अवलोकन गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनुभयो । 

शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्यालले प्रदेशस्तरीय लोकमार्गले नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई रुपन्देहीका साथै कपिलवस्तु र दाङ जिल्लालाई प्रत्यक्ष जोड्ने बताउनुभयो । 

उहाँले लोकमार्ग निर्माणले त्यस क्षेत्रका यात्रुलाई भैरहवा आउन अझै सहज हुने र त्यसबाट समयका साथै पैसाको समेत बचत हुने बताउनुभयो । सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले यो लोकमार्ग पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण हुने बताउँदै विस्तृत परियोजना प्रतिवेदन बनाउन प्रक्रिया अघि बढाउने दुई जिल्लाका पालिकाबिच सहमति भएको बताउनुभयो ।