• १३ मंसिर २०८१, बिहिबार

काकाकुल कोटवस्ती, गाडीले बोकेकै पानीको भर

blog

गाडीबाट पानी ढुवानी गरेर पिउने देउराली, अर्वेनी कोट र सिरकोटको बस्ती । तस्बिर ः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १३ गते । कालीगण्डकी गाउँपालिका - १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् । 

कालीगण्डकी गाउँपालिका वडा नम्बर एकको देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूलाई यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौँदेखि झेल्दै आएका छन् ।  

मुहानभन्दा बस्ती माथि भएका करण  त्यस क्षेत्रमा लिफटिङबाट मात्रै खानेपानीको समस्या समाधान हुन्छ ।  त्यस क्षेत्रमा पाँच वर्ष भन्दा बढी हुँदासमेत लिफटिङको कार्य पूरा हुन सकेको छैन । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तम्घासमार्फत हुने कार्यले गति लिन नसक्दा पनि त्यस क्षेत्रका नागरिकले समस्या झेल्दै आएका हुन् । 

एक वर्षमा कहिले एउटा ट्याङ्की बनाउने ,कहिले मोटर खरिद गर्ने जस्ता कार्यले गर्दा आफूहरूलाई देखाउने दाँत जस्तो बनाएको स्थानीय तिलक रानाले दुखेसो पोख्नुभयो । थोरै थोरै काम गरेजस्तो गर्ने र कार्य पूरा कहिल्यै नहुने हुँदा गाडीमा ढुवानी गरेको पानी तेल जस्तै हुने गरेकाले आफूहरूले गाडीबाट कहिलेसम्म पानी ढुवानी गरेर खाने भन्दै सरोकारवालाहरूलाई प्रश्न गर्नुभयो ।  

नेताहरूले पनि चुनावी नारा बनाउने र चुनाव जितेर गएपछि समस्या बिर्सने गरेको त्यस क्षेत्रका स्थानीयहरूको गुनासो छ । चुनावमा मात्रै आफूहरू भोट बैङ्कको रूपमा प्रयोग मात्रै हुने गरेको उनीहरूले बताउँदै आएका छन् । 

वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका उनीहरूले हिउँद लागेपछि मुहान सुक्ने भएपछि उक्त समस्या झेल्नुपरेको स्थानीय तुलसी पाण्डेले दुखेसो गर्नुभयो । हिउँद लागेपछि  राती सुत्ने बेलामा पनि खानेपानीको समस्याले सताउने गरेको उहाँले बताउनुभयो । गाडीमा पानी ढुवानी गरेर ल्याउँदा एक पटकको एक हजार पाँच रुपियाँ तिर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ । 

यस्तै सिरकोटकी मनकुमारी रानाले पनि पिउने पानीको समस्याले गर्दा स्थानीयहरू बसाइँसराइ गर्न बाध्य हुने गरेको गुनासो गर्नुभयो । खानेपानीकै समस्याले गर्दा एक दर्जनभन्दा बढी व्यक्तिहरू बसाइसराइ गरेर गएको भन्दै यस्तै समस्या कायमै रहे अरू पनि बाध्य हुने उहाँको भनाइ छ । यस्तै कोटका लक्ष्मीपति न्यौपानेले खानेपानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताउनुभयो । 

बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।

ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण र खानेपानीको पाइप लाइन खन्ने काम  भएको कार्यालयका प्रमुख सरोज न्यौपानेले बताउनुभयो । अहिले विद्युतीकरण गर्नका लागि टेन्डरबाट काम भइरहेको र यस वर्ष पानी खुवाउने गरी काम भइरहेको उहाँको भनाइ छ ।  बजेट अभावका कारण त्यस क्षेत्रको समस्याबारे जानकार भए पनि काम पूरा गर्न नसकिएको न्यौपानेले बताउनुभयो ।