• २४ पुस २०८१, बुधबार

मञ्जुश्री गुफा जाने पदमार्ग निर्माण भएपछि पर्यटकलाई सहज

blog

मञ्जुश्री गुफा, गुफा जाने पदमार्ग र हलेसी क्षेत्र। तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, मङ्सिर १२ गते। हलेसी क्षेत्रमा रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण गरिएको छ। त्रि–धार्मिक स्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफामा जाने पदमार्ग निर्माण भएपछि भक्तजनलाई सहज भएको छ।  

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा अवस्थित त्रि–धार्मिक स्थल हलेसी हिन्दु, बौद्ध र किरात धर्मको आस्थाको केन्द्र हो। हलेसीमा दर्शन गर्न एवं अवलोकन गर्न विश्वका तीर्थालु पर्यटकहरू आउने गरेका छन्। हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजनहरू पुग्ने गरेका छन्। मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो। हाल पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको भक्तजनहरूले बताएका छन्। मञ्जुश्री पदमार्ग आकर्षक निर्माण भएपछि उक्त क्षेत्र जाने पर्यटकहरूको पनि वृद्धि हुने हलेसी तुवाचुङ नगरपालिकाले विश्वास लिएको छ। 

विशेष गरी हलेसी मारतिका आएका बौद्ध धर्मावलम्बीहरू अनिवार्य मञ्जुश्री गुफा जाने गरेका छन्। गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक भक्तजनलाई लडेर चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभयो। उक्त पदमार्गले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मदत गर्ने उहाँको भनाइ छ। आकर्षक मञ्जुश्री पदमार्गमा फोटो, भिडियो खिच्नको लागि मात्रै पनि पर्यटकहरू पुग्ने गरेको मेयर राईले बताउनुभयो। 

आकर्षक ढुङ्गा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ। आकर्षक ढुङ्गाकै वालसमेत लगाइएको छ। २ मिटरदेखि ५ मिटरसम्मको चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा पनि आकर्षक देखिन्छ। 

मञ्जुश्री पदमार्गसँगै तुवाचुङ पदमार्ग, माङिखम घर निर्माण लगायतको संयुक्त साँढे ५ करोडको ठेक्काबाट मञ्जुश्री पदमार्ग निर्माण भएको हो। मञ्जुश्री पदमार्गको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ। हाल सोही पदमार्गबाट भक्तजन एवं पर्यटक आवतजावत गरिरहेका छन्।

संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीका प्रतिनिधि ध्रुव थापाका अनुसार तुवाचुङ पदमार्ग निर्माणको काम पनि धमाधम भइरहेको छ। माङिखम घर निर्माणको काम भने सुरु भएको छैन। सोही ठेक्काबाट बसाहथान खेलमैदानमा वाल लगाउने काम पनि भएको उहाँको भनाइ छ।