• २४ पुस २०८१, बुधबार

रेडियो नेपाल र नेपाल टेलिभिजन सबैको पहुँचमा पुग्छ : सञ्चारमन्त्री गुरुङ

blog

रेडियो नेपालले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर १२ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगानुकूल स्तरोन्नति गर्दै सरकारी सञ्चार माध्यमहरुलाई अघि बढाइने उल्लेख गर्नुभएको छ । सार्वजनिक सेवा विभाग रेडियो नेपाल काठमाडौंले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच सबै नेपालीमा यस वर्षभित्र पुर्‍याइने उल्लेख गर्नुभयो । “रेडियो नेपाललाई यस वर्षभित्रै नेपालका सबै घरमा सुनिने बनाइसक्छौँ, नेपाल टेलिभिजन पनि यही वर्षभित्र सबै नेपालको घरबाट हेर्न मिल्ने बन्छ ।” नेपालको पर्यटन प्रवर्द्धन र पहिचानका लागि एनटिभी वर्ल्ड यसै वर्ष सञ्चालन हुने उहाँको भनाइ छ ।

सरकारी सञ्चार माध्यम आधा शताब्दीभन्दा पुराना ऐनहरुबाट सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले सार्वजनिक सेवा प्रशारण कार्यान्वयनपछि यो क्षेत्रमा नयाँ आयाम थपिने जनाउनुभयो । “हामीले ब्रिटिस मोडेलको सार्वजनिक सेवा प्रसारण चलाउँदैछौँ,” उहाँले भन्नुभयो, “रेडियो नेपाल र नेपाल टेलिभिजन प्रसारण माध्यम भएकाले यसमा आए, गोरखापत्र छापा भएकाले आएन ।” उहाँले गोरखापत्र संस्थानको ऐनलाई पनि सामयिक संशोधन गरी सार्वजनिक प्रसारण जस्तै मोडेलबाट सञ्चालन गरिने प्रष्ट पार्नुभयो । 

सरकारले सञ्चार माध्यमहरु नाफाका लागि नभई सेवाका लागि सञ्चालन गरेको उल्लेख गर्दै उहाँले तीन तहकै सरकारले ती माध्यमलाई अपनत्व लिई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी सञ्चार माध्यममा सङ्घीयता कार्यान्वयनको सौन्दर्य देखिने उहाँको भनाइ छ । “सङ्घीयता राम्ररी कार्यान्वयन भएको कहीं छ भने त्यो सरकारी सञ्चार माध्यममा छ । विभिन्न भाषामा सामाचार, कार्यक्रम र सामग्री प्रसारण भइरहेका छन्,” उहाँले भन्नुभयो । 

नेपाल सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आरम्भ गरेको जनाउँदै उहाँले अनलाइन माध्यमहरुमा देखिएका अराजकता नियमन गर्नैपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “सामाजिक सञ्जाल र अनलाइनलाई नियमनका लागि आउँदो अधिवेशनबाटै मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी छ ।” अनियमितता, मुद्दा लगायतका कारण सञ्चालनमा आउन नसकेको सुरक्षण मुद्रण केन्द्रलाई समेत चाँडै चलाउने तयारी रहेको उहाँले उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले रेडियो नेपालसँग प्रदेश सरकार र प्रेस रजिष्ट्रार कार्यालयले सहकार्य गर्दै आएको जनाउनुभयो । “सञ्चारमा सबै प्रदेशवासीको हक सुनिश्चित गर्न हामी सहकार्य गरिरहेका छौँ,” उहाँले भन्नुभयो । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले आरम्भमा प्रदेशसम्म जानुपर्ने भन्ने मनन गरी पोखरा आएको उल्लेख गर्नुभयो । “पत्रकारका सङ्घ, संस्था, विज्ञ, पत्रकारका सुझाव समेटेर अघि बढ्छौँ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले “रेडियो नेपालको प्रशारणमा समावेशिता” विषयमा कार्यपत्र पेश गर्नुभयो । रेडियो नेपालले केन्द्रीय प्रसारण, सात प्रादेशिक प्रशारण केन्द्रसहित ३३ एमएफ स्टेशनबाट प्रसारण गरिरहेको उहाँको भनाइ छ । रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङले नेपाली जनतामा भावनात्मक एकता, सूचना, मनोरञ्जन, जनचेतना र समाचार पुर्‍याउन लागिपरेको जनाउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, रेडियो नेपाल पोखराका कार्यक्रम अधिकृत पुरुषोत्तम न्यौपानेलगायतले बोल्नुभएको थियो ।