• १२ मंसिर २०८१, बुधबार

महासचिव पोखरेलसँग भियतनामी टोलीको भेटवार्ता

blog

नेपाल भ्रमणमा रहनुभएका भियतनाम कम्युनिष्ट पार्टीको टोलीका प्रतिनिधिहरु नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग भेट गर्दै ।

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर ११ गते । नेपाल भ्रमणमा रहनुभएका भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेकपा (एमाले) महासचिव शंकर पोखरेलसँग भेट गरेको छ । भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले मंगलबार महासचिव पोखरेलसँग भेट गरेको हो । 

६ सदस्यीय प्रतिनिधिमण्डलले एमाले केन्द्रीय कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेटेर छलफल गरेको छ । भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबिचको सम्बन्धका बारेमा छलफल भएको बताइएको छ । 

भेटमा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्वका साथ भियतनामको भ्रमण गरेबाट दुई देशबिचको गहिरो सम्बन्धलाई उजागर गर्ने बताउनुभयो । पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाहरूको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताउनुभयो । 

पोखरेलले सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबिच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भियतनाममा भएको स्वाधीनता र स्वाभिमानको आन्दोलनबाट नेपालले ठुलो शिक्षा र प्रेरणा लिएको स्मरण गर्नुभयो । भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धि यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलले विश्वास व्यक्त गर्नुभयो । 


भेटमा भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा अझ बढी सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले दुई कम्युनिष्ट पार्टीबिचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताउनुभयो ।